राजकुमार कार्की
कातिक २० । जिल्लास्थित विभिन्न
स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई प्राथमिक मनोवैज्ञानिक सहयोग
सम्बन्धीको तालीम सम्पन्न भएको छ । सदरमुकामस्थित मायरा होटलमा तीनदिन देखि चलेको
तालीम बिहिबार सम्पन्न भएको हो । मोलुङ्ग गाउँपालिकाका अध्यक्ष उत्तम राईको
अध्यक्षतामा तालीमको समापन भएको थियो । युएनएफपीएको आर्थीक सहयोग र टिपीओ नेपालको
प्राविधिक सहयोगमा तालीमको आयोजना गरिएको युएनएफपीए जिल्ला संयोजक रेखा श्रेष्ठले
जानकारी दिनुभयो ।
मानेभन्ज्याङ्ग गाउँपालिकाका ४ वटा
स्वास्थ्य संस्था र मोलुङ्ग गाउँपालिकाका ४ वटा स्वास्थ्य संस्थामा कार्यरत
स्वास्थ्यकर्मीहरुलाई तालीम दिएको प्रशिक्षक प्रेमनाथ भट्टराईले जानकारी दिनुभयो ।
तालीममा मानेभन्ज्याङ्ग गाउँपालिका अन्तर्गत उबुँ, वाक्सा, मोली, रागवपुर स्वाथ्य
चौकीमा कार्यरत स्वास्थ्यकर्मी र मोलुङ्ग गाउँपालिका अन्तर्गत श्रीचौर, प्राप्चा, रामपुर, कुन्तादेवीमा कार्यरत
स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो ।
स्वास्थ्य संस्थामा आउने विरामीहरुको
प्रारम्भिक मनोसामाजिक समस्याहरुका लक्षण पहिचान लगायत भावनात्मक सहयोग र आवश्यक
सेवामा रेफर गर्न सक्ने सिपको विकास गराउने उदेश्यले तालीमको आयोजना गरिएको
प्रशिक्षक कुमार पौडेलले जानकारी दिनुभयो । समापन कार्यक्रममा बोल्दै युएनएफपीए
जिल्ला संयोजक श्रेष्ठले समाजमा हुने
हिंसाको बारेमा प्रष्ट पार्नुभएको थियो । उहाका अनुसार, ‘समाजमा आर्थीक, सामाजिक, राजनीतिक, धार्मीक, नैतिक, पारिवारिक लगायतका
विभिन्न क्षेत्रमा हिंसा हुने गर्दछ । हिंसा जहा पनि जहिले पनि र जुनसुकै अवस्थामा
पनि हुन सक्दछ ।’ समापन कार्यक्रममा बोल्दै कार्यक्रमका
सभापति एवं मोलुङ्ग गाउँपालिकाका अध्यक्ष उत्तम राईले तालीममा सिकेका विषवस्तुलाई
आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्न तालीममा सहभागी स्वास्थ्यकर्मीहरुलाई सुझाव
दिनुभयो । साथै समाजमा विभिन्न कारणले मानसिक समस्या आउने र त्यसलाई समयमै चिनेर
समाधान गर्न नसक्दा भविष्यमा विकराल अवस्था सिर्जना हुन सक्ने भएकाले समयमै रोगको
पहिचान गरी निराकरण गर्न आवश्यक रहेको बताउनु भयो ।