साउन २७ । प्रजातान्त्रिक आन्दोलनका शहिद क्याप्टेन यज्ञबहादुर थापाकी धर्मपत्नी पूर्णकुमारी थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । चिशंखुगढी गाउँपालिका–३, दियालेस्थित आफ्नै निवासमा शुक्रबार अपराह्न ४ बजे उहाँको निधन भएको हो । स्वर्गीय पूर्णकुमारी थापालाई कुनै दीर्घरोग नभएको र बुढ्यौलीका कारण स्वास्थ्य कमजोर बन्दै गएकाले निधन भएको उहाँका भतिज नेत्रविक्रम थापाले जानकारी दिनुभयो ।
वि.सं. १९९२ सालमा खोटाङ जिल्लाको हउचुरमा
जन्मिनुभएकी पूर्णकुमारी क्याप्टेन यज्ञबहादुर थापाकी साइली श्रीमती हुनुहुन्थ्यो
। उहाँका चार छोरी भगवती, पदमकुमारी, कमला र निर्मला रहेका छन् । विवाहपछि सबै छोरी आ–आफ्नो घरमा रहे पनि उहाँ
माइली छोरीसँग बस्दै आउनुभएको थियो ।
पारिवारिक स्रोतका अनुसार क्याप्टेन यज्ञबहादुर
थापाका पाँच श्रीमतीमध्ये जेठी लक्ष्मी माया थापा, माइली (नाम थाहा नभएको) साइली पूर्णकुमारी
थापा,
काइली खड्गकुमारी
थापा र कान्छी लक्ष्मी कुमारी थापा
हुनुहुन्थ्यो । स्वर्गीय पूर्णकुमारीका जेठी सौताका कुनै पनि सन्तान भएका
थिएनन् भने माईली सौताका १ छोरा १ छोरी छन् । त्यसै गरी काइली सौताका ३ छोरा र ४
छोरी छन भने कान्छी सौताका २ छोरी रहेको नेत्रविक्रम थापाले जानकारी दिनुभयो ।
स्वर्गीय पूर्णकुमारी थापाका चारै जना सौताको यसअघि नै निधन भइसकेको छ ।
प्रजातान्त्रिक आन्दोलनका योद्धा, क्याप्टेन थापा
क्याप्टेन यज्ञबहादुर थापा दोस्रो विश्वयुद्धका
क्रममा नेपाली सेनाको तर्फबाट ब्रिटिश सेनासँगै जापानविरुद्धको मोर्चामा लड्नुभएको
थियो । युद्धपछि नेपाल फर्किएका थापालाई
तत्कालीन सरकारले दुःख दिन थालेपछि
उहाँले बीपी कोइरालासहितका शीर्ष प्रजातान्त्रिक नेताहरूसँग भेट गरी पूर्वी पहाडमा
सञ्चालन हुने क्रान्तिको सैनिक कमाण्डरको जिम्मेवारी लिनुभएको थियो ।
लडाकु सेनाको कमाण्डिङ सम्हाले सँगै पहाडी
जिल्लाहरुमा आक्रमण गर्ने नेतृत्व लिएर हिड्नु भएको थियो । वि.सं. २०३१ मा भएको टिम्बुरबोटेको ओडारमा
सरकारी सेनाको आक्रमणबाट जोगिएर भाग्न सफल हुनुभएको थियो । त्यहाँबाट सेनाको घोरा
तोडेर भाग्न सफल भई आफ्नो सुरक्षाका लािग आफ्नै गाउँ पोखरे गाविस, हालको चिशंखुगढी
गाउँपालिका–२ मा पुगेको बेलामा पनि सेनाले घेरा हाले पछि उहाँ भागेर परालको माच
(कुनीउ) भित्र लुकेर बसेको अवस्थामा पञ्चायती सेनाबाट पक्राउ पर्नुभएको थियो ।
ओखलढुंगाको पोखरेमा पक्राउ गरी काठामाण्डौ लगेर गोलघरमा थुनिएको थियो ।
वि.सं. २०३५ साल माघ २४ गते बिहान पोखरा लैजाने
भन्दै हेटौंडाको अनकन्टार जंगलमा लगेर सरकारी सेनाले क्याप्टेन थापाको हत्या गरेको
थियो । क्याप्टेन थापाको सहादत भएको ३७ वर्षपछि नेपाल सरकारले वि.सं. २०७२ फागुन
१९ गते उहाँलाई औपचारिक रूपमा शहिद घोषणा गरेको थियो ।
स्वर्गीय पूर्णकुमारीको पार्थिव शरीरमा नेपाली
कांग्रेस जिल्ला सभापति तेजेन्द्र खनालले पार्टीको चारतारे झण्डा ओढाई अन्तिम
श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । भने जिल्ला समन्वय समितिकी उपप्रमुख तारादेवी
कार्कीलगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले पनि उहाँप्रति
श्रद्धाञ्जली व्यक्त गरेका थिए।
प्रजातान्त्रिक आन्दोलनका एक योद्धाका रूपमा
इतिहासमा दर्ज क्याप्टेन यज्ञबहादुर थापाको जीवनसंघर्षलाई नजिकबाट नियाल्ने, भोग्ने र सहयोग गर्दै
आएकी धर्मपत्नि पूर्णकुमारीको निधनसँगै उहाँसँग जोडिएको एउटा पुस्ताको प्रत्यक्ष
साक्षी पनि गुमेको नेपाली कांग्रेसका नेता जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख
टेकराज भट्टराईले बताउनु भयो ।