निःस्वार्थ सेवा गर्ने नवराज तेश्रोपटक विद्यालय व्यवस्थापन समिति अध्यक्ष


राजकुमार कार्की

 चैत १९ । कालिका माध्यमिक विद्यालय सिस्नेरीको, विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा नवराज खड्का तेश्रोपटक सर्वसहमत चयन हुनुभएको छ । मंगलबार सम्पन्न भएको चुनावमा नवराज खड्काको सेवाको कदर गर्दै पुनः तेश्रो पटक सर्वसहमत अध्यक्षमा चयन गरिएको हो । विद्यालय सुधारका लागि निस्वार्थ काम गर्ने नवराज खड्कालाई अविभावकले छोड्नै चाहेनन् ।

सानै उमेरमा पोलियो रोगका कारण एउटा खुट्टा सुकेर सानो भएको छ । यताउता हिडडुल गर्न बैशाखीको सहायता आवश्यक पर्दछ । एउटा खुट्टा नभएपनि बैशाखीको सहायताले ओखलढुंगा सदरमुकाम लगायत अन्य जुनसुकै ठाउँमा समेत पुग्न कुनै हिजकिचाहट छैन । विद्यालयको काम झोलामा बोकेर स्थानीय सरकार देखि प्रदेश र संघ सरकारको ढोका चाहारी रहने खड्काका कारण विद्यालयको भौतिक शैक्षिक गुणस्तर समेत बृद्धि भएको स्थानीय अविभावकले जानकारी दिएका छन् ।

२०७३ सालमा चुनाव जितेर विव्यासको अध्यक्ष बन्नुभएका खड्काले विद्यालयमा शैक्षिक सुधारका कार्यहरुको थालनी गर्नुभएको थियो । त्यसबेला आफ्नो कार्यकालमा विद्यालय शिक्षामा गुणस्तर बृद्धि गर्न सफल हुनुभयो । निस्वार्थ काम र विद्यालय सुधारमा सफल भएकाले पुनः २०७९ को चुनावमा अविभावकले खड्का लाई नै अध्यक्षमा सर्वसहमत चयन गरेका थिए । विद्यालय सँगसंगै अन्य सामाजिक काममा समेत चासोका साथ आफ्नो सहभागिता जनाउदै आउनु भएको छ । मंगलबार भएको चुनावमा अन्य ब्यक्तिहरुको पनि अध्यक्षमा दावी थियो । तर नवराजलाई नै अविभावकले सर्वसहमत अध्यक्षमा चुनेका थिए ।

उहाँको कार्यकालमा एडीवी मार्फत सुविधा सम्पन्न भवन  निर्माण सम्पन्न गर्नुका साथै दरबन्दी अनुसारका विषयगत शिक्षकको ब्यवस्था भएको छ । विद्यालयको आफ्नै वेवसाइड निर्माण गरिनुका साथै प्रत्येक कक्षामा सिसिटिभी र नेटवर्कीङ्ग सिस्टमको जडान गरिएको छ । हेडसरको कार्यकक्षबाट प्रत्येक कक्षामा बोल्न मिल्ने गरी स्पिकरको ब्यवस्था गरिएको छ । विद्यार्थीहरुको ह्यान्डराईटीङ्ग सुधारका लागि तालिमको ब्यवस्था, उद्घोषणकलाको तालिम, संगित तालिम र संगित सामग्रीहरुको ब्यवस्थापन समेत गरिएको छ । शिक्षण सिकाईको विषयमा प्रत्येक कक्षाका विद्यार्थी, अविभावक, शिक्षक र विद्यालय व्यवस्थापनसँग प्रत्यक्ष अन्तर्कृया समेत गर्ने गरिएको छ ।  पुस्तकालयको व्यवस्था, कम्प्युटर ल्यावको व्यवस्था लगायत खेलक्षेत्रमा पनि उलेख्य प्रगति गरिएको छ । विद्यालयको वार्षिकोत्सब मनाउन शुरु गरिएको छ भने विद्यालयको स्मारिका प्रकाशन गरिएको छ ।  विद्यालयमा घेराबार तथा खेलमैदान निर्माण जस्ता काम गरेको अध्यक्ष खड्काले बताउनु भयो । अहिले कालिका मावि सिस्नेरीमा नर्सरी देखि १२ कक्षा सम्म ४ सय हाराहारी विद्यार्थी अध्ययन गरिरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया