जिल्लाको वार्षिक समिक्षा सम्पन्न


राजकुमार कार्की

 भदौ १७ । ओखलढुंगा जिल्लाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । सोमबारबाट शुरु भएको समिक्षा कार्यक्रम मंगलबार सम्पन्न भएको हो । आर्थीक वर्ष २०८१÷८२ मा सन्चालन भएका योजना तथा कार्यक्रमहरुको बारेमा प्रस्तुतिकरण गरिएको छ । जिल्ला स्थित स्थानीयतह, सरकारी तथा गैरसकारी संघसंस्थाले सन्चालन गरेका गतिविधीहरुको बारेमा प्रस्तुत गरिएको छ । जिल्लाका ८ वटा स्थानीय तह र सरकारी तथा गैरसरकारी संस्थाहरुले योजना कार्यक्रम प्रस्तुत गरेको जिल्ला समन्वय समितिले जानकारी दिएको छ ।

सोमबार प्रतिनिधी सभा सदस्य राहरि खतिवडाको प्रमुख आतिथ्यतामा तथा प्रदेशसभा सदस्यद्वय प्रदिप कुमार सुनुवार र बाबुराम गौतमको विशेष आतिथ्यता र जिल्लास्थित राजनीतिक दलका प्रमुख एवं प्रतिनिधीहरु, स्थानीय तहका प्रमुख एवं प्रतिनिधीहरु, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख एवं प्रतिनिधीहरुको उपस्थितिमा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । दुइदिन सम्म सन्चालन भएको कार्यक्रममा कार्यालयहरुले वर्षभरी सन्चालन गरेका योजना कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

समिक्षा कार्यक्रममा कार्यालयहरुले आफ्नो प्रस्तुती सकेर कार्यक्रम छोडेर हिड्ने गरेकाले कार्यक्रमको अन्तिम सम्म  उपस्थिति कम रहेको जानकारी दिएका छन् । समापन कार्यक्रममा बोल्दै पूर्वमेयर मोहन श्रेष्ठले कार्यक्रममा आफ्नो प्रस्तुति सकिने वितिक्कै अरु कार्यालयको प्रस्तुतिको बेवास्ता गर्दै हिड्नुले राम्रो सन्देश नदिएको बताउनु भयो । उहाँले भन्नुभयो; ‘हामी चियापसलमा बसेर घण्टौसम्म देशविदेशका विकासका बारेमा कुरा गरेर बस्छौ, तर आफ्नै जिल्लाको विकास निर्माणको बारेमा छलफल गर्ने आधिकारीक फोरममा समय दिन नसक्नु लजास्पद हो । त्यसै गरी समापन कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारी कार्यालयका प्रमुखहरु नै जिम्मेवार नदेखिएको बताउनु भयो ।

कार्यक्रमको समापन गर्दै जिल्ला समन्वय समितिका प्रमुख टेकराज भट्टराईले कार्यालय प्रमुखहरुमा जोशजाँगर कम भएको हो की भन्ने महसुस भएको बताउनु भयो । आगामी दिनमा कार्यक्रमलाई फरक तरिकाले सन्चालन गर्नुपर्ने सिकाई भएको पनि बताउनु भयो । जिल्लाका अधिकाँस ठाउँबाट उपचार गर्न काठमाण्डौ जानुपर्ने बाध्यताको अन्त्य गर्न सबै सरोकारवालाहरु छलफल गरि लाग्नु पर्ने बताउनु भयो । 

प्रतिक्रिया