चैत १९ । सामुदायिक अस्पताल मिसन सोब्रु
ओखलढुंगाले सरकारबाट बीमाको रकम नपाएको भन्दै बिरामीबाट रकम असुल्दै आएको छ । स्वास्थ्य बीमाबोर्डबाट ९ महिना देखिको
बीमाको रकम भुक्तानी हुन बाँकी रहेको भन्दै मिसन अस्पतालले बिरामी सँग रकम असुल
गर्न थालेको हो । करिब १ महिना देखि नै
अस्पताले बिरामीसँग उपचार बापतको रकम असुल्दै आएको छ । राज्यबाट लिनु पर्ने बीमा बापतको रकम राज्यले समयमा नदिएको र आफुसँग
भएको पैसाले औषधी खरिद गर्न नसकेका कारण बीमा
उपचार बन्द गरिएको अस्पतालका बिजीनेश मेनेजर बुद्ध श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार, गत २०८१ साल बैशाख महिना देखि नै बीमा
बापतको रकम अस्पतालले पाएको छैन । ९ महिना अवधी सम्मको करिब ३ करोड ७२ लाख
रकम पाउन बाँकी रहेको छ । बीमा बापतको रकम
राज्यले नदिएपछि औषधी खरिद गर्न नसकेका कारण बीमाको उपचार बन्द गर्न बाध्य
भएको मेनेजर श्रेष्ठले बताउनु भयो ।
बिरामीको संख्या दिनानुदिन बढ्दोक्रममा हुने
तर बीमाको पैसा एक रुपैँया पनि भुक्तानी नभएपछि औषधी खरिद गर्न नसकेर बीमा
उपचार बन्द गर्न बाध्य भएको श्रेष्ठको भनाई छ ।
ओखलढुंगा जिल्लामा पुरानो अस्पतालको
रुपमा सन्चालित यस अस्पतालमा जिल्लाबाहेक सिन्धुली, उदयपुर, खोटाङ र सोलुखुम्बुका नागरिक समेत
उपचार गर्न आउने गरेका छन् । तर बीमा कार्डले उपचार नभएपछि बिरामीको संख्यामा केहि
कमि आएको अस्पतालले जानकारी दिएको छ । दैनिक औसतमा १ सय १० जनाभन्दा बढी बिरामी
विभिन्न जिल्लाबाट उपचार सेवा लिन आउने गरेका छन् ।
अस्पतालले बीमाकार्डको उपचार बन्द
गरेपछि नियमित औषधी सेवन गर्ने नागरिक मारमा परेका छन् । सुगर, प्रेसर, कोलेष्ट्रोल जस्ता रोगको नियमित औषधी सेवन गर्ने बिरामीहरु मारमा
परेका हुन् । दैनिक औषधी सेवन गर्नुपर्छ, स्वास्थ्य
बीमा गर्दा पनि पैसा खर्च भयो, अहिले
अस्पतालमा औषधीको पनि पैसा तिर्नुपरेको गुनासो चम्पादेवी गाउँपालिका–४, का
बिरामी चन्द्र बहादुर दर्जीले गर्नुभयो ।
सिद्धिचरण नगरपालिका वडा नं १२, भडाँरेका नाराण गिरीकी श्रीमति
प्यारालाइसिस बाट थलिएर दुइवर्षदेखि ओछ्यानमा हुनुहुन्छ । उहाँलाई मासिक ४ हजार बराबरको
औषधी नियमित खुवाउनु पर्छ । बीमाबाट औषधी खरिद गर्दा ५ सय २५ रुपैया मात्रै पर्छ ।
तर बीमा नहुँदा ४ हजार नै तिर्नुपर्ने भएकाले नियमित औषधी खुवाउन नसक्ने अवस्थामा
रहेको नारायण गिरीले गुनासो गर्नुभयो । उहाँको श्रीमतिले सेवन गर्ने औषधी जिल्लाको
मिसन अस्पताल र काठामण्डौका अस्पतालहरुमा मात्रै पाउन गरेको उहाँको भनाई छ ।
आम्दानीजन्य पेशा ब्यावसाय नभएका मान्छेले त उपचार पनि नपाई मरिने अवस्था सिर्जना
भएको उहाँको गुनासो छ ।
स्वास्थ्य मन्त्रायलय र स्वास्थ्यबीमा बोर्डमा बीमा बापतको रकम भुक्तानी दिन पटकपटक माग गर्दा पनि पैसा जम्मा गरिहाल्छौ भनेर आश्वासन दिने, तर पैसा नदिने गरेको सिद्धिचरण नगरपालिकाका मेयर एवं सामुदायिक अस्पातालका सल्लाहकार समितिका अध्यक्ष तेजेन्द्र खनालले बताउनु भयो ।