राजकुमार कार्की
ओखलढुंगा जेठ १४ । समय परिवर्तन सँगै समाज पनि
परिवर्तन हुँदै आएको छ । बाबु आमाको काजक्रिया गर्न छोरा नै चाहिन्छ, वा पुरुष नै चाहिन्छ
भन्ने संस्कार अब समाजबाट हट्दै गएको छ । छोरीले मलामी सम्म जानु हुदैन भन्ने
नेपाली समाजमा छोरीले कपाल खौरेर कोरामा बसेर
काजक्रिया गर्न थालेका छन् । जिल्लाको मोलुङ गाउँपालिका वडा नं ४
हर्कपुरस्थित घलेगाउँकी तारा विष्टले कपाल खौरेर कोरामा बसेर आफ्नी आमाको
काजक्रिया गरिरहनु भएको छ ।
हर्कपुरस्थित
घलेगाउँकी कलामाया विष्टको ९२ वर्षको उमेरमा जेठ ७ गते निधन भयो । उहाँका ४ छोरी
मात्रै थिए । कान्छी छोरी तारा विष्टले उहाँको पालनपोषण समेत गर्दै आउनु भएको थियो
। उहाँको बुवाको पहिले नै निधन भइसकेको थियो । आमाको निधनपछि आफ्ना आफन्तहरुलाई
जुठो बार्ने (कोरामा बसेर काजक्रिया
गर्ने) मान्छे नखोज्नु, मेरी आमाको काजक्रिया म आफै गर्छु भनेर कम्मर कस्नु भयो । यस्तो आवाज
सुन्दा मलामीहरु छक्क मात्रै परेनन् दाजुभाई सबैजना भागे ।
हिन्दु संस्कार अनुसार सबै भन्दा नजिकका दाजुभाईले कोरा बसेर जुठो बार्ने चलन छ । छोरीले कोरा बसेर काजक्रिया गरेको घट्ना समाजमा विरलै मात्रै सुन्न पाइन्छ । तारा विष्टले घरमै दाजुभाई ( काका, ठुलोबाका छोराहरु) सँग सल्लाह गर्नुभयो । ‘मैले आमालाई दाजुभाई सरह नै पालनपोषण गरेँ कपाल खौरेर कोरा बसेर म आमाको काजक्रिया आफै गर्छु ।’ एकजना दाई ( नाम खुलाउन नचाहेको ) उहाँका पनि ४ वटी छोरी छन् । उहाँले मलाई हौसला दिदै भन्नुभयो । मेरा पनि ४ वटी छोरी मात्रै छन् । उनिहरुलाई हिम्मत पनि बढ्छ तिमीले कपाल खौरेर कोरामा बस्नु म डालो बोक्छु भन्नुभयो । यो कुरा सबै दाजुभाई लगायत सबैजनाले स्वीकार गरे ।
सल्लाह अनुसार, तारा विष्टले घरमै कपाल खौरेर मलामी जानु भयो । घाटमा हिन्दु परम्परा अनुसार दाहसंस्कार गरीसके पश्चात टाले र डाले खोजी भयो । टाले छोरी तारा विष्ट त्यहि हुनुहुन्थ्यो । अघि घरमा डालो बोक्न तयार भएका दाई लगायत अरु दाजुभाई कोहि पनि त्यहा उपस्थित भएनन् । उनिहरु त्यहाबाट हिडिसकेका थिए । खोजी गर्दा त्यहाबाट हिडेर घरतिर गईसकेको सुचना प्राप्त भयो । त्यसपछि तारा विष्ट कोरामा बसेर आमाको काजक्रिया गरिरहनुभएको छ । मृतक कलामाया विष्टका माईला ज्वाई लाल बहादुर कार्कीले डालो बोकेको स्थानीय छिमेकी रस्मीता वाग्ले खतिवडाले जानकारी दिनुभयो । अरु तीन जना छोरी चिनीमाया खड्का, टीका माया कार्की र कृष्णमाया खड्काले भने कोरा भन्दा बाहिर बसेर काजक्रिया गरिरहेका छन् । दाजुभाई विना छरछिमेकीले सहयोग गर्दै आएको मृतककी नातिनी सिर्जना कार्कीले जानकारी दिनुभयो ।
पितृसतात्मक समाजमा छोरी अर्काको घरमा जाने र छोराले बंश धान्ने भन्ने मान्यतालाई चुनौती दिदै तारा विष्टले कोरामा बसेर काजक्रिया गर्नु समाज परिवर्तनको गतिलो उदाहरण भएको मोलुङ गाउँपालिकाकी उपप्रमुख उर्मिला खतिवडाले बताउनु भयो ।
छोराको मान्यतालाई बढावा दिदै आएकोमा यस घटनाले छोरा सरह छोरीले पनि आमाबुवाको कपाल खौरेर काजक्रियामा बस्नुले समाज परिवर्तन मात्रै नभई छोरीमात्र भएका आमाबुवालाई पनि राहत भएको युएनएफपीए ओखलढुंगाकी जिल्ला संयोजक रेखा श्रेष्ठले बताउनु भयो ।