कतार विश्वकप : विजेता र उपविजेताले कति पाउँछन् पुरस्कार ?

कार्तिक २७ । मंसिर ४ गते  देखि कतारमा सुरु हुने विश्वकपको माहोल विश्वभर बन्दैछ । विश्वको उत्कृष्ट ३२ टिमहरु कतारमा हुने फिफा विश्वकप फुटबलको अन्तिम तयारीमा  छन् । विश्वकप फुटबल विश्वकै एक खेल मेला हो । यसले विश्वको ध्यान खिचिरहेको हुन्छ । विश्वकप फुटबल विश्वको सबै भन्दा ठुलो फुटबल प्रतियोगिता हो । विश्वकपमा आयोजकको हैसियतमा डेब्यू गर्न लागेको कतार र छनोट भएर आएका ३१ गरि जम्मा ३२ राष्ट्रहरु सहभागी भएका छन् ।   खेल मंसिर ४ (नोभेम्बर २० देखि) पुस ३  (डिसेम्बर १८ सम्म) हुनेछ । अन्तिममा ३२ मध्ये एक टिम मात्र विजेता हुनेछ । विश्वकपको विजेतासँगै विश्वकप खेल्ने सबै टिमले पनि नगद पुरस्कार पाउनेछन् । विश्वकप विजेताले फिफा विश्वकप ट्रफी पाउनेछन् । जसको मूल्य २० मिलयन अमेरिकन डलर बराबरको भएको बताइएको छ । १८ क्यारेट सुन जडित उक्त ट्रफी ३६।८ सेन्टिमिटर अग्लो छ भने ६।१ किलोग्राम तौलको छ । यद्यपी विश्वकप जसले जिते पनि सक्कली ट्रफी लैजान भने पाउँदैनन् ।

विश्वकप विजेताले उपाधिसँगै ठूलो मात्रामा नगद रकम पाउनेछन् । कतारमा हुने विश्वकपको विजेताले अहिलेसम्मकै सबैभन्दा धेरै ४२ मिलियन अमेरिकी डलर पाउनेछन् । जुन चार वर्षअघि रुसमा भएको विश्वकप विजेता फ्रान्सले पाएको भन्दा ४ मिलियन बढी हो । यस्तै २०१४ को ब्राजिल विश्वकप भन्दा ७ मिलियनले बढी हो । अब बन्ने विश्वकप विजेताले पाउने रकम नेपालीमा हिसाव गर्दा करिव ५ अर्ब ४४ करोड हुन आउँछ । विश्वकप विजेताले ५ अर्ब ४४ करोड २३ लाख ६० हजार (नेपाल राष्ट्र बैंकअनुसार आइतबार अमेरिकी डलरको बिक्री मूल्य)  पाउनेछन् । यस्तै उपविजेताले ३० मिलियन डलर अर्थात नेपाली रकम ३ अर्ब ८८ करोड ७४ लाख पाउनेछन् तेस्रो हुने टिमले २७ मिलियन अर्थात ३ अर्ब ४९ करोड ८६ लाख ६० हजार र चौथो हुने टिमले २५ मिलियन अर्थात ३ अर्ब २३ करोड ९५ लाख रुपैयाँ पाउनेछन् । क्वाटरफाइनल पुग्ने टिमले १७ मिलियन अर्थात २ अर्ब २० करोड २८ लाख ६० हजार रुपैयाँ पाउनेछन् । अन्तिम १६ मा पुग्ने टिमहरुले १३ मिलियन डलर अर्थात १ अर्ब ६८ करोड ४५ लाख ४० हजार पाउनेछन् । समूह चरणमा खेल्ने टिमले ९ मिलियन अर्थात १ अर्ब १६ करोड ६२ लाख २० हजार रुपैयाँ पाउनेछन् ।

कतार विश्वकपको कूल पुरस्कार राशी ४४० मिलियन अर्थात ५७ अर्ब १ करोड ५२ लाख रुपैयाँ छ ।

 कतार विश्वकपको  पुरस्कार राशी

विजेता       : ४२ मिलियन डलर

उपविजेता    : ३० मिलियन डलर

तेस्रो स्थान  : २७ मिलियन डलर

चौथो स्थान  :  २५ मिलियन डलर

क्वाटरफाइन :  १७ मिलियन डलर

अन्तिम १६  : १३ मिलियन डलर

समूह चरण  : ९ मिलियन डलर

श्रोत : अन्तर्राष्ट्रिय सन्चार माध्याम

प्रतिक्रिया