लोप हुँदै गाउँघरका ढिकी


झगनखबर

 पुस २४ । ढिकीलढङ्ग ढिकीलढङ्ग गर्ने ढिकीको आवज अहिले गाउँघरमा सुनिन छोडेको छ । चाडपर्व आउदा गाउँघरका प्रत्येक घरमा बज्ने ढिकीको  आवज अहिले सुनिन छाडेको हो । डिजेल मिल, लाइनबाट सन्चालन हुने मिल गाउँगाउँमा पुगेपछि ढिकी लोप भएका छन् । ढिकी कुट्नको लागि दुःख पनि हुने समय पनि बढी लाग्ने भएकाले यसको प्रयोग गर्न छाडेका हुन् । पहिला धान कुट्न चामलको पिठो कुट्न, मकै कुटी पिठो बनाउन, कोदो फल्न लगायतका काम गर्न ढिकीको प्रयोग गर्ने गरिन्थ्यो । दशैँतिहार जस्ता ठुला चाडहरुमा एकहप्ता पहिला देखि विहान तिन बजेदखि उठेर धान कुट्ने, पिठो कुट्ने गरेको अनुभव चम्पादेवीकी शान्ति माया खड्काले सुनाउनु भयो । उहाँ भन्नु हुन्छ; ‘हामी त विहान ३÷४ बजेदेख उठेर धान कुट्ने, पिठो कुट्ने गथ्र्याै तर अहिलेका मान्छेहरु अलिकति भएपनि मिलमा नै पु¥याउने गर्छन्, ढिकी भनेको के हो बिर्सी  सके ।

आफ्नो आवश्यक्ताको आधारमा जतिखेर आवश्यक प¥यो त्यहि समयमा धान कुट्ने पिठो कुट्ने चलन थियो । ढिकीमा धान कुट्नुका साथै पिठो कुट्ने, कोदो फल्ने, मकै फल्ने, वस्तुलाई खोले बनाउन स्कुश, फर्सी लगायतका सामग्रीहरु पनि कुट्ने गरिन्थ्यो । प्रत्येक घरमा वा प्रत्येक २÷३ घर बराबर एउटा ढिकी अनिवार्य रुपमा राख्ने चलन थियो । चाडपर्वको बेलामा सामूहिक रुपमा ढिकी चलाउने चलन पनि थियो । एक परिवारको कुटेर सकेपछि अर्काे परिवारको कुट्ने गर्दथे । एक परिवारले अर्काे परिवारलाई ढिकी कुट्न सघाउने पनि गर्दथे । घरायसी अन्य काम सकेर बिहान बेलुकाको समयमा ढिकी कुट्ने गर्दथे । टुकी बत्ति बालेर स्थानिय गित गाउँदै कोहि चामल केलाउने कोही कुट्ने र कोही घान लाउने ( वरीपरी छरिएको धान ओखलमा जम्मा गर्ने) मान्छे हुन्थे । ढिकी कुट्दा बल पर्ने भएकाले सबै जना पालैपालो गरेर पनि कुट्ने गरिन्थ्यो । ढिकी राख्नको लागि घर नजिकै एउटा छुट्टै घर (सानो कटेरो) को ब्यवस्था गरिएको हुन्थ्यो । ढिकी बनाउने सिप हुनेहरुका लागि भने खासै पैसाको खर्च हुँदैनथियो । ढिकीका लागि उपयुक्त काठ भने पाउन कठिन हुने बुढापाकाहरु बताउनु हुन्छ । सुक्दा हलुका नहुने र घाममा पनि नफुट्ने काठ ढिकीका लागि उपयुक्त हुने गर्दथ्यो । तर त्यस्तो काठ पाउन नै कठिन हुने गथ्र्यो । प्रायः ओखर काठको ढिकी बनाउँदा उपयुक्त हुने गरेको ढिकी प्रयोगकर्ताहरु बताउछन् ।

५ देखि ६ फिट लामो ठुलो काठमा अगाडी एक फिट जति छोडेर प्लाल पारिन्छ र त्यसमा काठको मूसल हालिन्छ । पछाडीबाट करिब आधाफिट छोडेर तेर्साे आग्लो हाली दुइवटा काठ वा ढुंगामा टेको लगाई अड्याईन्छ । जहाँ मानिसले खुट्टाले टेकेर उचालेर छोड्ने गरिन्छ । अगाडीको भागमा जहाँ मूसल हालीन्छ, त्यसको ठिक तलपर्ने गरी ढुंगाको ओखल राखिन्छ । ओखलमा धान वा अन्य कुनै अन्न राखी माथीबाट ढिकीलाई उचालेर छोड्ने गर्दा मूसलले ओखलमा भएको धानलाई ठोकेर चामल बनाउने गरिन्छ ।

ढिकीको पुच्छारमा खुट्टाले टेकेर उचाल्नको लागि सजिलो होस भनेर खुट्टा अड्याउने सानो खोपिल्टो जस्तो बनाएको बनाएको हुन्छ । ढिकीको पुच्छारमा टेकेर उचाल्नको लागि एक जना वा दुइजनाले एकएक खुट्टाले सँगै थिचेर ढिकी कुट्न सकिन्छ । दुइ जना मिलेर ढिकी उचाल्दा दुवैजनालाई हल्का हुने भएकाले दुईजना मिलेर ढिकी कुट्ने पनि गर्दछन् । अगाडीको भागमा एक जना एकापट्टि बसेर वा दुईजना दुवैपट्टि एकएक जना बसेर घान लगाउने गर्दछन् ।

पहिलापहिला धान, पिठो कुट्नको लागि प्रयोग गरिने ढिकी अहिले लोप भई सकेको छ । अहिले गाउँघरका बालबच्चालई पनि ढिकी भनेको के हो, थाहा हुन छोडिसकेको छ । धान कुट्न, मकै, चामल कुटेर पिठो बनाउन लगायत अन्य सामग्री कुटेर पिठो बनाउनको लागि प्रयोग गरिने ढिकी अहिले त्यसको नामनिसाना पनि नभएको स्थानियबासीको भनाई छ ।

प्रतिक्रिया