भदौरेका राई दम्पतिको हत्यारोपमा एक नाबालक सहित दुई जना पक्राउ


राजकुमार कार्की

 माघ २५ । चिशंखुगढी गाउँपालिका–६, भदौरेका राई दम्पतिको हत्यारोपमा एक नाबालक सहित दुईजना पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । आईतबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरी प्रतिवादीहरु सार्वजनिक गरिएको हो ।

साविक भदौरे गाउँविकास समिति–४, हाल चिशंखुगढी गाउँपालिका–६, बस्ने ३४ वर्षीय धनबहादुर राना मगर र १७ वर्षीय बालक पक्राउ गरी सार्वजनिक गरिएको छ । दुवैजनालाई काठमाण्डौ महानगरपालिका वडा नं १५, डल्लु लखतिर्थमार्ग डेराकोठाबाट २३ गते पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक मदन केसीले जानकारी दिनुभयो । प्रतिवादीहरुलाई माघ २५ गते सम्मानित जिल्ला अदालत ओखलढुंगाबाट ज्यान सम्बन्धी कसूर तथा डाँका चोरी शिर्षक मुद्दामा म्याद लिई थप अनुसन्धान भईरहेको छ । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो, कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको अनुसन्धान टोलीले संयुक्त अनुसन्धान गरेको थियो । अनुसन्धानबाट हत्यामा संलग्न हुनसक्ने ब्यक्तिहरु काठमाण्डौको डल्लु क्षेत्रमा लुकीछिपी बसेको भन्ने खुल्न आएपछि ओखलढुंगाबाट प्रहरी टोली काठमाण्डौ गई केन्द्रीय अनुसन्धान ब्युरोसँगको समन्वय बाट घट्नामा संलग्न २ जनालाई पक्राउ गरिएको  जनाईएको छ ।

घट्नास्थल र प्रतिवादीहरुबाट विभिन्न सामग्री (दसी प्रमाण) हरु  वरामद गरिएका छन् ।  माघ १३ गते घट्नास्थलबाट १ थान कोदालोे वरामद गरिएको थियो भने प्रतिवादीहरु सँगै रहेको अवस्थामा मृतक चन्द्रमाया राईले प्रयोग गर्ने गरेको मोबाईल १ थान, प्रतिवादीहरुले घट्नाको क्रममा प्रयोग गरेको मोबाईल २ थान, घट्नास्थलबाट लुटिएको एनटिसीको रिचार्ज कार्ड रु ५० को ६४ थान, रु १०० को ८२ थान एनसेलको रिचार्ज कार्ड (रिचार्ज नगरेको) रु १०० को १३ थानसहित जम्मा १५९ थान वरामद गरेको छ भने  घट्नास्थलबाटै मृतकको कानमा लगाउने सुन जस्तो देखिने पहेलो धातुको माडवाडी १ जोर र सिक्री १ थान घट्नास्थलबाट लुटिएको नगद रु १००० को १२ थान  १२ हजार र ४ थान सि माला  बरामद गरिएको छ । त्यसैगरी  काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका–४, पशुपतिटोल स्थित प्रतिवादीको आफन्तको डेराकोठाबाट मृतक चन्द्रविक्रम राईले प्रयोग गर्ने मोबाईल १ थान वरामद गरिएको जिल्ला प्रहरीले कार्यालय ओखलढुंगाले जानकारी दिएको छ । 

प्रहरीका अनुसार, प्रतिवादी दुईजनाले काठमाण्डौमै योजना बनाई लुटपाट गर्ने र हत्या गर्ने उदेश्यले घट्नास्थल आएका थिए । रातीको सयमा गाउँमा गई राती नै घट्ना घटाएर राती नै उक्त घट्नास्थल छोडेका थिए ।

चिशंखुगढी– ६, भदौरेको बोहोरे टोलका अन्दाजी ८१ वर्षीय चन्द्रविक्रम राई र उहाँकी धर्मपत्नि  अन्दाजी ८० वर्षीय चन्द्रमाया राईको १२ गते राती हत्या गरिएको थियो । सामान्य किराना पसल सन्चालन गर्दै आएका राई दम्पतिको लुटपाटपछि हत्या गरिएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार, घरको दोश्रो तलाको सुत्ने कोठाको खाटमा सिरक ओढेको अवस्थामा श्रीमान चन्द्रविक्रमको शव र श्रीमतिको खाटको छेउ भुइमा सिरक ओढेकै अवस्थामा मृतअवस्थामा शव भेटिएको थियो ।  खाट मुनी रगत लतपतिएको देखेपछि घट्ना हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको थियो । राई दम्पतिको लुटपाट पश्चात हत्या गरेको हुन सक्ने आशंका प्रहरी र स्थानीयबासीले गरेका थिए ।  घट्ना शंकास्पद देखेपछि  प्रदेश प्रहरी कार्यालयबाट तालीम प्राप्त कुकुर समेत झिकाई प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

पुस १५ गते चिशंखुगढी गाउँपालिका–६, भदौरेको गैरीगाउँमा ६० वर्षीय सोवितमान थापामगर र उहाँकी धर्मपत्नी ६० वर्षीय रत्नमाया थापामगरको लुटपाटपछि हत्या गरिएको थियो । असोज २६ गते सिद्धिचरण नगरपालिका ४ चार्खुमा एकल महिला रत्न कुमारी कटवाल (कार्की) को पनि हत्या गरिएको थियो । हत्यामा संलग्न भएको आरोपमा चारजना युवा, मिलन भन्ने संगम राई, विनोद राई, प्रकाश भुजेल र  दोर्जे भन्ने अशोक भुजेल पक्राउ गरी पुपक्र्षका लागि कारागार पठाईएको छ ।  

प्रतिक्रिया