राजकुमार कार्की
भदौ ७ ।
पूर्व प्रधानाध्यापक निडर कुशल शिक्षक दिलराम लामीछानेको निधन भएको छ । ८८ वर्षको
उमेरमा काठमाण्डौको आफ्नै घरमा निधन भएको हो ।
१९९३ सालमा
ओखलढुंगाको रुम्जाटारमा जन्मनु भएका लामीछानेको २०८१ साल भदौ ३ गते काठमाण्डौको
महारजागन्जस्थित आफ्नै घरमा निधन भएको परिवार श्रोतले जानकारी दिएको छ । उहाँका
धर्मपत्नी र दुईजना छोराहरु रहेका छन् । लामो समय शिक्षण पेशामा लाग्नु भएका
लामीछानेले जिल्लामा शिक्षाको विकासमा ठुलो योग दान पु¥याएको रुम्जाटार
माध्यमिक विद्यालयका प्राधानाध्यापक गोकर्ण बहादुर बानिँयले बताउनु भयो ।
रुम्जाटार माध्यमिक विद्यालय रुम्जाटारमा लामो
समय प्राधानध्यापक भएर काम गर्नु भएका लामीछाने माम्खा माध्यमिक विद्यालय माम्खामा
पनि अध्यापन गराउनु भएको थियो । २०३४ साल देखि २०६१ साल सम्म २७ वर्ष रुम्जाटार
माध्यमिक विद्यालय रुम्जाटारमा अध्यापन गराउनु भयो । २०३४ साल भदौ १ गते देखि २०६१
साल बैशाख १० गते सम्म रुम्जाटार मा.विमा अध्यापन गराएको प्र.अ. बानिँयाले जानकारी
दिनुभयो । बानिँयाका अनुसार, उहाँ शिक्षक संघको
जिल्ला अध्यक्ष, जिल्ला शिक्षा समितिको सदस्य, शिक्षक छनौट समितिको
सदस्य समेत भएर काम गर्नु भएको थियो ।
गोरखा वेलफेयर स्किम संग समन्वय गरी विद्यालयको भैतिक पुर्वाधारको काम गर्नु भएको थियो । उहाँ
निडर ब्यक्ति हुनुहन्थ्यो । माओबादीको द्वन्द्वकालमा माओबादी आक्रमण गर्न आउँदा
भैँसी बाध्न प्रयोग हुने किलोले हानेर माओबादी लडाकुलाई नै घाईते बनाएको परिवार
श्रोतले बताएको छ ।
नेपाली कांग्रेसका
जिल्ला सभापति एवं सिद्धिचरण नगरपालिकाका प्रमुख तेजन खनाल (तेजन्द्र) ले भन्नुभयो, ‘दिलराम लामीछानेको
निधनले जिल्लाकै शैक्षिक ब्यक्तित्व, शैक्षिक अविभावक
गुमाएका छौ । सिद्धिचरण नगरपालिका लगायत जिल्लाले अपूरणीय क्षति ब्यहोर्नु परेको छ
।’
कक्षा ६ देखि १० सम्म लामीछाने सँगै अध्ययन गर्नुभएको र ६ वर्ष सँगै शिक्षणपेशा गर्नु भएका काशीराज कोइरालाको नजरमा दिलराम लामीछाने :
दिलराम लामीछाने सर
हेडसर हुनुहुन्थ्यो हामी विद्यार्थी थियौँ । उहाँ निक्कै कडा स्वभाव लाग्ने, सबैलाई प्रभावित
पार्न सक्ने, सबै विद्यार्थीलाई अनुशासनमा राख्न सक्ने निडर
स्वभावको हुनुहन्थ्यो । उहाँले भनेपछि नमान्ने कुरै हुँदैनथ्यो । विद्यार्थीको
र उहाँसँगको दुरी लामो नै हुन्थ्यो, प्राय विद्यार्थीहरु
उहाँको नजिक नै जाँदैनथिए । राम्रो पढ्ने र अनुशासनमा रहने विद्यार्थीको नजिक रहेर
धेरै माया गर्नुहुन्थ्यो । तर फटाह बद्मास विद्यार्थीलाई भने छुलुक्कै
बनाउनुहुन्थ्यो । म कक्षा १० मा अध्ययन गर्ने बेला एकदिन म स्कुल गएको थिइन । त्यो
दिन अरु विद्यार्थीहरु भागेर खोलामा पौडी खेल्न गएका रहेछन् । साथीहरुले मलाई पनि
पौडी खेल्न गएको छ भनेर पोल लगाएका रहेछन् । भोलीपल्ट स्कुल गएपछि हिजो पौडी खेल्न
भागेर गएका साथीसँगै मैले पनि सरबाट कुटाई खाँए । उहाँले सिर्कीना र झापुले पिट्ने
गर्नुहुन्थ्यो । त्यो समयमा ९–१० मा अध्ययन गर्ने
विद्यार्थी पनि १८ वर्ष कटेका ठुला नै हुन्थे । उहाँ एक आफ्नो एजेन्डालाई जसरी पनि
लागू गर्न सक्ने खुबी भएको कडा, कुशल प्रशासक
हुनुहुन्थ्यो ।
शिक्षक भएर सँगै काम गर्दाको अनुभव :
शिक्षक नियुक्त भएर
आउँदा सर सिनियर, पाको उमेरको हुनुहुन्थ्यो, म युवा थिए । सरकै
विद्यार्थी भएर पनि होला सल्लाह सुझाव लिएर अगाडी बढ्नुहुन्थ्यो । धेरै जनाको
सल्लाह लिएर आफुलाई उपयुक्त लागेको समयमा मात्र निर्णय लिएर अगाडी बढ्ने बानी थियो
। सल्लाह लिएर गरेको निर्णय कार्यान्वयन
गरेरै छाड्ने उहाँको विशेष्ता थियो । धेरैको कुरा सुन्ने तर आफ्नो कुरा अरुलाई
धेरै नसुनाउने स्वभाव उहाँको थियो । निर्णय लिएर काम गर्न अगाडी बढेपछि ब्याक
नहुने बानी थियो । उहाँले निर्णय लिनु भन्दा अगाडी धेरै जनासँग सल्लाह लिएर मात्र
काम गर्नुहुँदो रहेछ । यो देखेर म छक्क परेँ ! विद्यार्थी हुँदा, एक्लै डिसिजन गरेर
अगाडी बढेको जस्तो लाग्थ्यो तर होइन रहेछ । विद्यार्थीलाई कारबाही गर्दा पनि सबै
शिक्षक र सम्बन्धीत अविभावकको सल्लाहमा मात्रै कार्बाही गर्ने गर्नुहुदोरहेछ । यो
कुरा म शिक्षक भएपछि मात्र थाहा पाएँ ।
उहाँ एकल ढंगबाट आदेश
दिने नभई सबैको सल्लाह र सुझाव लिएर अगाडी बढेपछि पछाडी नहटी जसरी पनि आफ्नो
निर्णय कार्यान्वयन गरेरै छाड्ने ब्यक्ती हुनुहुन्थ्यो । उहाँले रुम्जाटार मा.विको
भौतिक संरचना देखि लिएर गुणस्तरीय शिक्षामा जिल्लाभरि नै योगदान पु¥याउनु भएको छ ।
-काशीराज कोइराला
रुम्जाटार माध्यमिक विद्यालयमा मा.वि तहको नेपाली विषय अध्यापन गराईरहनु भएको छ ।)
सँगै शिक्षण पेशा गर्नु भएका उत्तर कुमार कटवालको नजरमा दिलराम लामीछाने:
मैले २०३४ साल देखि
२०३७ सालसम्म रुम्जाटार माध्यमिक विद्यालय रुम्जाटारमा सँगै शिक्षण गरेको हो ।
उहाँ सन्त ज्ञान दिलदासका नाति दिलराम लामिछाने एक शैक्षिक क्रान्तिकारी ब्यक्ति
हुनुहुन्थ्यो । सन्त ज्ञान दिलदास धर्मप्रचारका रुपमा प्रजातन्त्रको वकालत र
राणाहरुको विरोध गर्ने गर्नुहुन्थ्यो । लामिछाने, प्रजातन्त्रवादी, आफ्नो विचारमा अडिग
रहने निडर ब्यक्ति हुनुहुन्थ्यो । उहाँले जिल्लाको शिक्षाको क्षेत्रमा अतुलनीय
योगदान पु¥याउनु भएको छ । उहाँ सँग विभिन्न खालका बाधा
अड्चनलाई समाधान गर्न सक्ने क्षमता थियो ।
त्यो समयमा उहाँले प्रजातन्त्रवादीलाई अत्यन्तै माया गर्दै जोगाउने तर्फ
लाग्नु हुन्थ्यो । तत्कालीन समयमा प्रधानपञ्च भिमराज गुरुङ्गले मलाई हदै सम्मको
कारबाही गर्ने प्रयास गर्दा पनि दिलराम सरले उहाँ त यहि विद्यालयमा बसेर अध्यापन
गराईरहनु भएको छ भनेर जोगाउनु भएको थियो । तत्कालीन पञ्चायतले मलाई कारर्बाही
गर्नको लागि हदै सम्मको प्रयास गर्दा पनि उहाँले नै जोगाउनु भएको थियो । सबै
शिक्षक साथीहरुलाई राम्रो र समान ब्यवहार गर्नुहुन्थ्यो । शिक्षक संगठनका
शिक्षकरुले उहाँको बिरोध गर्ने भएकाले उहाँहरुलाई चाहि खासै माया गर्नुहुन्नथ्यो ।
प्रशासन मामिलामा कठोर हुनुहुन्थ्यो । विद्यार्थीमा अनुशासन अनिवार्य हुनुपर्छ
भन्ने गर्नुहुन्थ्यो । अनुशासनको पालना नगर्ने विद्यार्थीलाई भने शारिरिक कारबाही
गर्नुहुन्थ्यो ।
१४–१५ दिन अगाडी म उहाँकै निवासमा भेट्न गएको थिए । उहाँसँग भेट भएपछि पुराना कुरा संझीनु भयो । शिक्षक पेशा लगायत संगठनमा सँगै काम गरेको सम्झदै रुनुभयो । पहिला गरेको काम हरुको बारेमा स्मरण गर्नुभयो । मैले जे जति काम गरेँ सबै राम्रै गरेको, ठीक गरेको जस्तो लागिरहेको छ । अब थला परेँ सायद उठ्न सक्दीन होला ! भन्नुभएको थियो । नभन्दै भदौ ३ गते उहाँको निधन भयो । उहाँको निधनले एउटा शैक्षिक क्रान्तीको निधन भएको महसुश भएको छ ।
-उत्तरकुमार कटवाल पूर्वशिक्षक अहिले प्रजातन्त्र सेनानी संघको केन्द्रीय सदस्य हुनुहुन्छ ।)
उहाँको विद्यार्थी द्रोण पोखरेलको नजरमा दिलराम लामिछाने :
उहाँ २०३४ साल देखि
निरन्तर रुम्जाटार माध्यमिक विद्यालयमा प्रधानाध्यापकको रुपमा काम गर्नुभयो ।
रुम्जाटार आउनु अगाडी माम्खा माध्यमिक विद्यालयमा प्रधानाध्यापक हुनुहुन्थ्यो ।
स्थानीय भएको हुनाले उहाँलाई सबैले सम्मान गर्नुहुन्थ्यो । रुम्जाटार मा.विमा
आएपछि विद्यालयलाई उलेख्य सुधार गर्नुभयो । रुम्जाटारमा प्लेन चल्न थालेपछि
काठमाण्डौ जान आउन पनि सजिलो भयो । प्रशासनिक क्षेत्रका ब्यक्तिहरुसँग भेटघाट गर्न
सजिलो भयो । प्रशासनिक ब्यक्तिहरुसँग भेटघाट, हेलमेल गरेर
विद्यालयको सुधार गर्नुभयो । उहाँ एक सामाजिक, समाजमा पनि सजिलै
भिज्ने मान्छे भएको हुनाले स्थानिय समाजका बुद्धिजीवीहरुले पनि उहाँसँग सल्लाह
लिने गर्थे । विद्यार्थीहरुलाई पनि राम्रो ब्यवहार गर्ने गर्नुहुन्थ्यो । उहाँको
नजरमा म असल विद्यार्थीमै पर्दथे । उहाँसँग लामो समय अध्ययन गर्न त पाइएन तर जति
अध्ययन गरियो स्मरणयोग्य रह्यो । म ३६ सालमा एसएलसी दिएर काठमाण्डौ आएँ । उहाँ
प्रजातन्त्रिक विचारधाराको हुनुहुन्थ्यो । उहाँको स्वभाव छक्का पञ्जा नगर्ने सिधा
प्रकृतिको थियो । हुने कुरालाई हुने, नहुने कुरालाई नहुने
नै भन्नुहुन्थ्यो । एकपटक बोलीसकेपछि कार्यान्वयन गर्ने दृढ स्वभावको हुनुहुन्थ्यो
। आफ्नो काम र निर्णयबाट कहिल्यै पछि नहट्ने जसरी पनि आफ्नो काम सम्पन्न गरेरै
छाड्ने स्वभावको हुनुहुन्थ्यो । उहाँले शिक्षाक्षेत्रमा पु¥याउनु भएको योगदान
अतुलनीय छ । उहाँको निधनले शैक्षिक अविभावक गुमाएका छौ ।
-द्रोण पोखरेल रिटायर्ड सहसचिव हुनुहुन्छ ।)