घरैमा पानीको धारा आएपछि स्थानीयबासी दंग


राजकुमार कार्की

 जेठ २३  । विहान–वेलुका पानीको जोहो गर्न घण्टौ समय बिताउनु पर्ने समस्या बाट मुक्त भएपछि फुर्छाेकी शेर्पा यतिखेर खुशीले दंग हुनुहुन्छ । उहाँमात्र हैन, उहाँ जस्तै घुन्साका ५५ घरधुरीका नागरिक यतिखेर खुशीले दंग छन् । र भन्छन; ‘विहान उठ्यो भाँडोमा पानी थाप्यो, चुल्होमा बसाल्यो, अब पानी ल्याउन खर्चिने समयमा तरकारी लगाउने हो, आम्दानी बढाउने हो ।’ उहाँहरु जस्तै, सयुक्त आधारभूत विद्यालय घुन्साका शिक्षक विद्यार्थी पनि दंग छन् । शिक्षिका विद्यादेवी बस्नेत भन्नुहुन्छ, ‘निजीरुपमा ल्याएको पानीको धारा बनाउदा–बनाउदा दिक्क भएका थियौँ । अब विद्यालयमा बालमैत्री धारा निर्माण भएपछि अब ढुक्क भएका छौ ।’

 यो खुशी यत्तिकै आएको होइन, सिद्धिचरण नगरपालिकाले ५५ घरधुरी र एक विद्यालयका लागि एक घर एक धारा निर्माण गरिदिएपछि घुन्साका नागरिकमा खुशी छाएको हो । सिद्धिचरण नगरपालिका–७, घुन्सामा नेपाल स्वास्थ्यका लागि पानी (नेवा) सँगको समन्वयमा धारा निर्माण सम्पन्न गरेको छ  । विद्यालयमा शिक्षक विद्यार्थीको लागि छुट्टै प्रयोग गर्ने गरी एकैठाउँमा बालमैत्री धारा निर्माण भएको छ ।  सिद्धिचरण नगरपालिका, नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र जनश्रमदानबाट गाउँमा एक घर एक  धारा निर्माण भएका हुन् । ५५ घरधुरी र एउटा विद्यालय गरी जम्मा ५६ वटा धारा निर्माण भएका छन् । उक्त ५६ वटा पानीका धाराले ६५ जना विद्यार्थी सहित २२६ जना उपभोक्ता लाभान्वित भएका छन् । सिद्धिचरण नगरपालिकाको ८ लाख ८६ हजार २१७, नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को १८ लाख ६० हजार १८६ र जनश्रमदानबाट ८ लाख ९५ हजार ७८३ गरी जम्मा ३६ लाख ४२ हजार १८६ लागतमा धारा निर्माण सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष जंग बहादुर कार्कीले बताउनु भयो ।

पानीको धारा निर्माण सम्पन्न भएपछि नगरप्रमुख तेजेन्द्र खनालले शनिबार उद्घाटन गर्नुभएको छ । धारा उद्घाटन गर्दै नगरप्रमुख खनालले, घर–घरमा आएको पानीको धारा प्रयोग गरी तरकारी खेति गर्न घुन्साबासीलाई अनुरोध गर्नुभयो । विगुटार आफैमा अत्याधिक तरकारी हुने ठाउँ हो, यहाँको तरकारीले सदरमुकामलाई नै धानेको बताउनु भयो । किसानको उत्पादनलाई सहुलियत दरमा बजार सम्म पु¥याउन नगरपालिकाले कृषी एम्बुलेन्स सन्चालनमा ल्याएकोले उक्त एम्बुलेन्स प्रयोग गरी सहज र थप आम्दानी गर्न विगुटारबासीलाई प्रमुख खनालले आग्रह गर्नुभयो ।

कुवाबाट गाग्रीमा पानी बोकेर खाँदै गरेको र कसैले साना साना पाईपका टुक्रा जम्मा गरेर घरसम्म दुःख गरेर पानी खाईरहेको अवस्थामा नगरपालिकाले नेवासँगको समन्वयमा धारा निर्माण गरिदिएकोमा वडाअध्यक्ष भलबहादुर कटवालले नगरप्रमुखलाई धन्यबाद दिनुभयो ।

नगरपालिकाको अथक प्रयासबाट घुन्सा खानेपानी योजना सम्पन्न भएकाले यसको उपभोग सँगै संरक्षण गर्ने दायित्व पनि उपभोक्ता कै भएको नेवा संस्थाका कार्यक्रम संयोजक रमेश दाहालले बताउनु भयो ।  खानेपानीको ठुलो समस्यमा रहेका घुन्साबासीका लागि घरैमा पानीको धारा बनिनु सपना जस्तै भएको छ ।

४ हजार २ सय मिटर लामो दुरीबाट ल्याएको पानीलाई १० हजार ५७५ मिटर पाईपको प्रयोग गरी घर–घरमा धारा पु¥याईएको छ । प्रविधिक कृष्ण काफ्लेका अनुसार, इन्टेक २ वटा, सिसी १ वटा, वि.पि.टी १ वटा, डि.टी १ वटा, केबल क्रसिङ २ वटा, डि.टी÷आर.भि.टी २ वटा, आर.भि.टी ३ वटा निर्माण भएका छन् । त्यसै गरी भाँडा सुकाउने चाङ ५२ वटा, भाँडा धुने स्ल्याब ५२ वटा र फोहोर ब्यवस्थापन गर्ने ५२ वटा निर्माण भएका छन् ।

 

 

प्रतिक्रिया