नागरिकका घर–घरमा पानीका धारा पुर्याउदै नगरपालिका


राजकुमार कार्की

 असार ७ । सिद्धिचरण नगरपालिकाले स्थानीय नागरिकका घर–घरमा पानीको धारा बिस्तार गर्दै आएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) सँगको समन्वयमा खानेपानीका धारा बिस्तार गर्दै आएको हो ।

नगरपालिका–७ विगुटारको घुन्सा खानेपानी योजना, वडा नं ८ सल्लेरीको काफ्ले खानेपानी योजना वडा नं ८ कै सल्लेरी खानेपानी योजना निर्माण सम्पन्न भई सन्चालनमा आएका छन् । वडा न ९ ज्यामिरेको बेथुखर्क खानेपानी योजनाको काम अन्तिम चरणमा पुगेको नगरप्रमुख तेजन खनालले जानकारी दिनुभयो ।

सिद्धिचरण नगरपालिका–८, सल्लेरी खानेपानी योजनाको शनिवार नगरप्रमुख तेजेन्द्र खनालले उद्घाटन गर्नुभएको छ । १ सय ६ घरपरिवार, एउटा विद्यालय र वडाकार्यालय गरी जम्मा १ सय ८ वटा धारा जडान भएको छ । यस योजनाबाट ५ सय ६१ जना उपभोक्ता लाभान्वीत भएका छन् । नगरपालिकाको ११ लाख २२ हजार ४९ रुपैयाँ, नेवाको २४ लाख १७ हजार ९०१ र जनश्रमदानबाट १३ लाख ७६ हजार ५१९ गरी जम्मा ४९ लाख  १६ हजार ४६९ लागतमा सम्पन्न भएको उपभोक्ता समिति अध्यक्ष कविता तामङले जानकारी दिनुभयो ।

सिद्धिचरण नगरपालिका–७, घुन्सामा ५५ घरधुरी र एउटा विद्यालय गरी जम्मा ५६ वटा धारा निर्माण भएका छन् । उक्त ५६ वटा पानीका धाराले ६५ जना विद्यार्थी सहित २२६ जना उपभोक्ता लाभान्वित भएका छन् । सिद्धिचरण नगरपालिकाको ८ लाख ८६ हजार २१७, नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को १८ लाख ६० हजार १८६ र जनश्रमदानबाट ८ लाख ९५ हजार ७८३ गरी जम्मा ३६ लाख ४२ हजार १८६ लागतमा धारा निर्माण सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष जंग बहादुर कार्कीले जानकारी दिनुभयो ।

सिद्धिचरण नगरपालिका–८, सल्लेरीकै काफ्ले खानेपानी योजनामा ८० घराधुरीका लागि ८० वटा धारा निर्माण भएका छन् । उक्त खानेपानी योजनाबाट ४ सय २२ जना उपभोक्ता लाभान्वित भएका छन् । सिद्धिचरण नगरपालिकाको तर्फबाट ९ लाख २१ हजार ६६६ रुपैया, नेवाको तर्फबाट १९ लाख ६५ हजार ४४० रुपैयाँ र जनश्रमदानबाट ८ लाख ९० हजार २५ रुपैयाँ गरी जम्मा ३७ लाख ७७ हजार १३१ रुपैयाँ लागतमा सम्पन्न भएको नेवाका कार्यक्रम संयोजक रमेश दाहालले जानकारी दिनुभयो ।

योजना निर्माण सम्पन्न गरी सन्चालनमा आएको छ । सिद्धिचरण नगरपालिका–९, ज्यामिरेस्थित बेथुखर्क खानेपानी योजनाको काम अन्तिम चरणमा पुगेको नगरप्रमुख तेजेन्द्र खनालले जानकारी दिनुभयो । यो योजना पनि नगरपालिका, नेवा र उपभोक्ताको जनश्रमदानबाट निर्माण भईरहेको छ । ३३ घरधुरीका   २ सय ३३ जना नागरिक लाभान्वित हुनेछन् । यो खानेपानी योजना सम्पन गर्नका लागि ३३ लाख ९४ हजार १५६ रुपैयाँ प्रस्ताव गरिएको छ ।

नगरमा निर्वाचित भएर आएपछि नगरबासीलाई शुद्ध र स्वच्छ पिउने पानीको ब्यवस्था गर्ने उदेश्यले गरिएको पहल र प्रयत्नबाट खानेपानी योजना सन्चालन गर्न सफल भएको नगरप्रमुख तेजेन्द्र खनालले बताउनु भयो । नेवाकै सहकार्यमा आगामी आर्थीक वर्षमा कम्तिमा ४ वटा खानेपानी योजना सन्चालन गर्ने तयारीमा रहेको पनि बताउनु भयो ।

कुवाबाट गाग्रीमा पानी बोकेर खाँदै गरेको र कसैले साना साना पाईपका टुक्रा जम्मा गरेर घरसम्म दुःख गरेर पानी खाईरहेको अवस्थामा नगरपालिकाले नेवासँगको समन्वयमा धारा निर्माण गरिदिएकोमा वडाअध्यक्षहरुले नगरप्रमुखलाई धन्यबाद दिएका छन् । दुखजिलो गरेर खानेपानीको जोहो गरिरहेका नागरिकको घरमा चौबिसै घण्टा पानी आउनेगरी धारा निर्माण भएपछि स्थानीय नागरिक खुशी भएका छन् । धारा सँगै प्रत्येक घरमा  भाँडा सुकाउने चाङ, भाँडा धुने स्ल्याब, फोहोर ब्यवस्थापन गर्ने ठाउँ निर्माण भएका छन् ।

 

प्रतिक्रिया