स्वास्थ्य कार्यालय ओखलढुंगाको प्रमुखमा मनिषा कायम


राजकुमार कार्की

असार ३० ।  विवादमा रहेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुंगाको प्रमुखमा मनिषा तामङलाई कायम गरेको छ । उच्च अदालत विराटनगर अस्थाई इजलास ओखलढुंगाले मनिषा तामङलाई प्रमुखमा कायम गरेको हो । जनस्वास्थ्य अधिकृत सातौमा सिफारीश भई मनिषा  जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगामा हाजीर हुन आउनुभएको थियो । निमित्त कार्यालय प्रमुखमा कार्यरत अहमद मन्सुरीले आफुलाई नै कार्यालय प्रमुख भएर काम गर्न सहयोग गर्न भन्नु भएको थियो । तर नियमानुसार मनिषा नै कार्यालय प्रमुख हुने भएकाले मन्सुरीलाई कार्यालय प्रमुखको रुपमा स्वीकार गर्ने अवस्था थिएन । तर मन्सुरीले भने आफु कार्यालय प्रमुखकै भूमिकामा रहिरहनको लागि विभिन्न पहुँचको प्रयोग गरेको तामङको भनाई छ । नियम र कानूनको अगाडी पहुँचको  केहि नलागेपछि मन्सुरी अदालत जानुभएको थियो ।  मन्सुरीले आफैलाई कार्यालय प्रमुख कायम गर्न माग गर्दै दिएको रिट आइतबार अदालतले खारेज गरेको छ । मन्सुरीको रिट खारेज भएपछि जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारको प्रमुखमा मनिषा नै कायम हुनुभएको छ ।

नेपाल स्वास्थ्य सेवाको रा.प.अनं. (द्वितिय प्राविधिक) अहेव पदमा २०४८ मंसिर २ गतेदेखि लागु हुनेगरी मन्सुरी नियुक्त हुनुभएको थियो । बढुवा हुनेक्रममा कोशी प्रदेश निजामति सेवा अन्तर्गत बढुवा समितिको निर्णयानुसार २०८० पुस २० गतेबाट लागु हुने गरी २०८१ साल बैशाख २८ गते  जनस्वास्थ्य अधिकृत पदनाम आठौमा स्तर बृद्धि गरिएको बताएका छन् । मन्सुरी बढुवा हुँदै जनस्वास्थ्य अधिकृत पदनाम आठौ भए पनि लोकसेवा आयोगले जनस्वास्थ्य अधिकृत सातौमा सिफारिस भएकी मनिषा नै सिनियर हुने व्यवस्था रहेको छ ।

२०८२ साल जेठ १३ गते मनिषा तामङलाई लोकसेवा आयोगले जनस्वास्थ्य अधिकृत सातौमा सिफारीश गरेको थियो । जेठ १४ गतेदेखि नै लागु हुने गरी स्वास्थ्य मन्त्रालय कोशी प्रदेशमा १८ गते हाजीर भई स्वास्थ्य कार्यालय ओखलढुंगामा १९ गते हाजीर हुनु भएको थियो । तामङलाई सिनियरका आधारमा कार्यालय प्रमुखमा स्वीकार नगरेपछि स्वास्थ्य मन्त्रालय कोशी प्रदेशले असार २४ गते कार्यालय प्रमुखको हैसियतमा आर्थीक कारोबार सन्चालन गर्ने व्यवस्था मिलाई दिन प्रदेश लेखा इकाई कार्यालय ओखलढुंगालाई पत्र पठाएको थियो । उक्त पत्रमा भनिएको छ; ‘स्वास्थ्य कार्यालय ओखलढुंगाको रिक्त दरबन्दीमा पदस्थापन गरी पठाएको हुँदा निज जनस्वास्थ्य अधिकृत सातौ श्री मनिषा मोक्तान तामङ नै कार्यालय प्रमुख हुनुभएकोले आर्थीक कारोबार समेत सन्चालन गर्ने व्यवस्था मिलाई दिनु हुन अनुरोध छ ।


प्रतिक्रिया