राजकुमार कार्की
असार
६ । सिद्धिचरण नगरपालिका–३ को आयोजनामा
सम्पन्न खुला अन्तर माध्यमिक विद्यालयस्तरीय छात्रा कबड्डी प्रतियोगिताको उपाधि
सगरमाथा जनता उच्च माध्यमिक विद्यालयले जितेको छ। नारायणस्थान माध्यमिक विद्यालयको
प्राङ्गणमा शनिबार सम्पन्न प्रतियोगितामा सजमावि प्रथम भएको हो ।
प्रतियोगितामा जिल्लाका ६ विद्यालयका छात्रा खेलाडीहरूको
सहभागिता रहेको थियो। फाइनलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै सगरमाथा जनता उच्च
माध्यमिक विद्यालय च्याम्पियन बन्न सफल भयो भने प्रबुद्ध माध्यमिक विद्यालय, च्यानम उपविजेता बन्यो। लालीगुराँस इङ्लिस स्कुल, सिद्धिचरण र हिमालय माध्यमिक विद्यालय, निशंखेले संयुक्त रूपमा सान्त्वना स्थान हासिल गरेका छन्।
वडा अध्यक्ष सिताराम दाहालका अनुसार
विजेता टोलीलाई रु. ३३ हजार ३३३, उपविजेतालाई रु. २२
हजार २२२ तथा सान्त्वना स्थान प्राप्त दुवै विद्यालयलाई जनही रु. ७ हजार ७७७
नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।
पुरस्कार सूचीमा समावेश हुन नसकेका अन्य दुई विद्यालयलाई पनि प्रोत्साहनस्वरूप
जनही रु. १ हजार ५०० नगद प्रदान गरिएको थियो।
व्यक्तिगत विधातर्फ सगरमाथा जनता उच्च
माध्यमिक विद्यालयकी मनिका मगर ‘बेस्ट डिफेन्डर’ घोषित हुनुभयो। उहाँले मेडलसहित
रु. १ हजार ५० नगद पुरस्कार प्राप्त गर्नुभयो । त्यसैगरी प्रबुद्ध माध्यमिक
विद्यालयकी मनिका कटवाल ‘बेस्ट रेडर’ घोषित हुँदै मेडल र रु. १ हजार ५० नगद
पुरस्कारबाट सम्मानित हुनुभयो। उहाँलाई ताजिकिस्तानका नागरिक इभानले थप रु. ५ हजार
नगद सहयोग प्रदान गर्नुभएको थियो।
समाजसेवी गजेन्द्र राईले प्रतियोगिताका
उत्कृष्ट तीन खेलाडीलाई जनही रु. ५०० का दरले नगद पुरस्कार प्रदान गर्नुभएको वडा सचिव
विरेन्द्र तामाङले जानकारी दिनुभयो ।
समापन
समारोहका प्रमुख अतिथि सिद्धिचरण नगरपालिकाका नगरप्रमुख तेजेन्द्र खनालले खेलकुदले
राष्ट्रको पहिचान अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने
बताउनु भयो। विश्वकप फुटबलको उदाहरण प्रस्तुत गर्दै उनले खेलाडी र खेलकुदमार्फत
देशलाई विश्वसामु चिनाउन सकिने उल्लेख गर्नुभयो।