राजकुमार कार्की
असार ७
। निरन्तर अविरल
वर्षाका कारण चिसंखुगढी गाउँपालिकामा बाढी
र पहिरोले ठूलो क्षति पुर्याएको छ। खानिखोला र बाङ्गे खोलामा आएको बाढीले पक्की
पुल आंशिक रूपमा बगाएको छ भने स्थानीयहरूका गोठ र घरहरूमा क्षति पुगेको छ।
प्रहरीका अनुसार, असार ६ गते साँझ ५
बजेपछि परेको भारी वर्षाले खानिखोला जोड्ने चिसंखुगढी गाउँपालिका वडा नं. ३ र ५ को
सिमानामा रहेको पक्की पुललाई आंशिक रूपमा बगाएको छ । चिसंखुगढी गाउँपालिका वडा नं.
२ बस्ने टिका भुजेलको ढुङ्गा-माटोको गारो र टिनको छानो भएको गोठ पूर्ण रूपमा
बगाउदा गोठमा बाँधेर राखेको एउटा भैसी
बेपत्ता भएको छ। सोही वडा बस्ने मन नारायण श्रेष्ठको ढुङ्गा-माटोको गारो र टिनको
छानो भएको गोठ बगाउँदा २ वटा गोरु बेपत्ता भएका छन् । वडा नं. ३ बस्ने मन बहादुर
सार्कीको ढुङ्गा-माटोको गारो र खरको छानो भएको गोठ पूर्ण रूपमा बगाएको छ। उक्त
गोठमा भएका ३ वटा गोरु बगाएर बेपत्ता
पारेको छ । त्यसैगरी वडा नं. १ बस्ने रामकुमार राईको २ तले ढुङ्गा-माटोको घरको
अगाडि भागमा पहिरो गएर आंशिक क्षति भएको छ। परिवार भने आफन्तको घरमा सुरक्षित
बसेका छन् । सोही वडाका जनक बहादुर मगरको घरको गारो चर्किएको छ। उनीहरूको परिवार
सासु देवी भुजेलको घरमा सुरक्षीत बसेका छन् । प्रहरीले मानवीय क्षति नभएको जनाएको
छ।
प्रहरी चौकी
खानिभञ्ज्याङबाट प्रहरी नायब निरिक्षक खुदु मुर्मुको नेतृत्वमा टोली घटनास्थल गइ
आवश्यक सहयोग गरेको जानकारी दिएका छन् ।