पुस ३ । ओखलढुंगा र सोलुखुम्बुको
सिमानामा रहेको गणेशथान माध्यमिक विद्यालयमा अध्यापनरत विज्ञान शिक्षक मृत फेला
परेका छन् । सिराहाको कर्जहना नगरपालिका–६, स्थाई घर भएका शिक्षक राजेश्वर प्रसाद शाह
आफ्नै कोठामा बुधबार विहान मृत फेला परेका हुन् । ५६ वर्षीय शिक्षक शाह गणेशथान
माध्यमिक विद्यालय नेचासल्यान गाउँपालिका–५ मा विज्ञान विषय अध्यापन गराउदै आएका थिए । मृतक शाह ओखलढुंगा
जिल्ला चिशंखुगढी गाउँपालिका–७, गैरीका मणी प्रसाद श्रेष्ठको घरमा कोठाभाडामा लिएर
बस्दै आएका थिए । शिक्षक शाह बुधबार विहान करिब ९ बजेको समयमा आफ्नै सुत्ने कोठाको
भित्तामा अढेस लागेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले
जानकारी दिएको छ ।
गणेशथान मा.वि.मा २०६६ सालमा विज्ञान विषयको
मा.वि. राहत कोटामा नियुक्त भई अध्यापन गराईरहेका नेचासल्यान गाउँपालिकाका शिक्षा
समिति सदस्य नवराज श्रेष्ठले जानकारी दिनुभयो ।
पुस २ गते उपचारका लागि सामुदायिक अस्पताल मिसन सोब्रु ओखलढुंगामा
जान्छु भनी विद्यालयमा बिदा स्वीकृत
गराएको विद्यालयले जनाएको छ । २ गते विहान करिब ९ बजेको समयमा शिक्षक शाहको कोठाको
ढोका खुल्लै देखेर छिमेकीले कोठामा हेर्दा बेडमाथी सिरक ओढेर भित्तामा अढेस लागेर
टाउको ढल्केको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । विमान सुरक्षा गार्ड
रुम्जाटारबाट प्रहरी नायव निरीक्षक भोज कुमार कटेलको कमाण्डमा २ जना प्रहरी टोली
गई घट्नास्थल सुरक्षीत गरीएको थियो ।
घटनाको विषयमा थप अनुसन्धान र कानूनी
प्रकृयाका लागि प्रहरी निरीक्षक मनिष लुइटेलको कमाण्डमा प्रहरी टोली खटिएको
जानकारी दिएका छन् । प्रहरी कार्यालय प्रमुख एवं प्रहरी नायव उपरिक्षक मदन केसीका
अनुसार परिवारको रोहवरमा घट्नास्थाल मुचुल्का र आवश्यक कानूनी प्रकृया पुरा गरी शव
परिक्षण गर्न जिल्ला अस्पताल रुम्जाटार ल्याईएको छ ।