तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै

 १८ भदौ । सिद्धिचरण नगरपालिका वडा नं. १२ का दल बहादुर कार्की र श्रीमती लक्ष्मी कार्की तरकारी खेतीबाट राम्रो आम्दानी गरिरहेका छन् । आफ्नो जग्गा र केहि जग्गा भाडामा लिएर तरकारी खेती शुरु गरेका दम्पतीले यो वर्ष देखी राम्रो आम्दानी गर्न शुरु गरेका हुन् ।

१२ वर्ष लामो समय बैदेसिक रोजगारी मलेसियामा बसेर काम गरेका कार्की अहिले घरमै बसेर तरकारी खेतीमा लाग्नु भएको छ । उहाँ भन्नु हुन्छ; बिदेश बसेर कमाएको पैसाले ओखलढुंगा बजारमा दुइवटा घडेरी जोडेँ, अब जीविकोपार्जन र छोरा पढाउनको लागी केही आम्दानी होलाकी भनेर तरकारी खेती गर्न थालेको हुँ । चारजनाको परिवार रहेको उहाँका दुइ छोराहरु (जुम्ल्याह) अध्ययनको लागी यसपाली देखी काठमाण्डौ गएका छन् भने श्रीमान श्रीमती भएर तरकारी खेती गरिरहेका छन् । जुम्ल्याह छोरा लबकुश यसपालीको एसईई पास गरेर आइटी पढ्नको लागी बनेपा गएका छन् । तरकारीबाट भएको आम्दानीले छोराहरुको पढाई खर्च र सामान्य घर खर्च गर्नको लागी समस्या नभएको बताउनु भयो ।

सिजनको बेलामा हप्तामा करिब १ क्विन्टल जती टमाटर उत्पादन हुने र अरुबेलामा पनि सालाखाला ६०।७० केजी जती उत्पादन गरिरहेको बताउनु भयो । टमाटरको अलवा सिजन अनुसारको तरकारी लगाईरहेको छ । अकबरे खुर्सानी, तिते करेला भण्टा, चिचिन्डो, फर्सी लगायतका तरकारीहरु लगाउने गरेका छन् । टमाटरबाट अलि बढी र राम्रो आम्दानी हुने गरेको र अन्य  तरकारीबाट भने सामान्य आम्दानी भईरहेको बताउनु भएको छ । तरकारी बिक्रीबाट मासिक लगभग २५ देखी ३० हजार सम्मको आम्दानी हुने गरेको छ । ३ वटा टनेलमा टमाटर फलिरहेको छ, अब ५ सय भन्दा बढी बिरुवा रोप्न तयार भईरहेको छ । रोग किराबाट पनि क्षती भईरहेको छ, सबै भन्दा बढी क्षती बाँदरले गर्ने गरेको उहाँको गुनासो छ ।

आफु सँग भएको जग्गा र ३० रोपनी जती भाडामा लिएर तरकारी खेती शुरु गरिएको छ । भाडामा लिएको जग्गा घरबाट केहि टाढा भएकाले लगाएको तरकारी बाँदरबाट जोगाउन समस्या भएको छ । प्रायः एक जना बिहान देखी बेलुका सम्म नै बाँदरबाट जोगाउन तरकारी रुङने गरेका छन् । २ हजार २५ सयको हुल बाँदर आएर तरकारीका बिरुवा भाँचीदिने, उखाल्ने गरेकोले बाँदरबाट जोगाउन ठुलो समस्या भएको गुनासो छ । रोग लागेको बेलामा के रोग लागेको हो, यसको निदानका लागी के औषधी प्रयोग गर्ने भन्ने जानकारी (सल्लाह)  दिने मान्छे नभएकाले राम्रो उत्पादन लिन नसकेको गुनासो गर्नुभयो ।

तरकारी उत्पादन गर्न समस्या नभए पनि बाजारको भने समस्या भएको बताएका छन् । ओखलढुंगा  सदरमुकाम लाग्ने हटियामा ल्याएर बिक्री गर्ने गरिएको छ । सदरमुकाममा हप्ताको बुधबार र शनिबार दुइपटक हटिया (हाट) लाग्ने गरेको छ । करिब दुई घण्टाको पैदल बाटो बाट डोकोमा लगेर बेच्ने गरेको बताएका छन् । डोकोमा बोकेर लगेको तरकारी कहिलेकाँही सबै बिक्री हुने गरेको र  कहिले सबै बिक्री नहुने गरेको बताएका छन् । हाटमा बिक्री नभएको तरकारी भैसीलाई दिने गरिएको छ । एउटा भैसी एक हल गोरु र बाख्रा खसी पनि पालेका छन् ।

 फल्ने तयारीका खुर्सानीका बिरुवा

 

प्रतिक्रिया