राजकुमार कार्की
कार्तिक २५ । कोशी प्रदेश प्रहरी
कार्यालय प्रमुख एवं प्रहरी नायब महानिरीक्षक इश्वर कार्कीले प्रहरीलाई हेर्ने
समाजको दृष्टिकोण फेरीनुपर्ने बताउनु भएको छ । ओखलढुंगा जिल्लास्थित प्रहरी
कार्यालय अनुगमन तथा निरीक्षण भ्रमणमा आउनु भएका कार्कीले यस्तो बताउनु भएको हो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा स्थानीय
सरोकारवालाहरु सँग संक्षिप्त अन्तर्कृया कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रममा प्रहरीका क्रियाकलापको विषयमा जिज्ञासा राखेका थिए । जिज्ञासाको
सम्बोधन गर्दै प्रमुख कार्कीले प्रहरीले गर्ने गतिविधी र गरिरहेको योगदानको विषयमा
प्रष्ट पार्नुभयो ।
प्रहरीले खाईनखाई राष्ट्रको लागि रातदिन
खटेर राम्रो सेवा दिईरहेको बताउदै, प्रहरीलाई तरवारको विचमा झुन्डयाएर राख्न
नमिल्ने बताउनु भयो । प्रहरीले गरेको
सेवाअनुसारको स्टयाटस समाजबाट अझै पाउन नसकेको र प्रहरीलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन
ल्याउनुपर्ने बताउनु भयो । प्रहरीप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन नआउन्जेल
प्रहरीमा केही समस्या रहिरहने कार्कीले
बताउनुभयो ।
प्रहरीको ब्यवहारमा कहि खराबी छन् भने
त्यसको निर्मम आलोचना गर्न समेत सुझाव दिनुभयो । प्रहरीले गरेको राम्रो कामलाई
राम्रो र नराम्रा काम छन् भने नराम्रो भन्न सक्नु पर्दछ । प्रहरीले गैरकानूनी काम
गर्न नसक्ने र कानूनले दिएको अधिकारमात्र प्रयोग गर्ने बताउदै महानिरीक्षक
कार्कीले भन्नुभयो; ‘यदि गैरकानूनी र नराम्रो काम प्रहरीले गर्दथ्यो भने, प्रहरीलाई राज्यले गोलीगठ्ठासहित
हतियार दिएको छ, जतिखेर पनि चल्नुपर्ने हो, तर प्रहरीले चलाउदैन । प्रहरी काम नलाग्ने हुन्थ्यो भने जतिखेर पनि
हतियार पड्काउदै हिड्थ्यो होला ! तर पड्काउदैन ।’
जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख टेकराज भट्टराईले, गुणस्तरीय कामका लागि
कसैसँग पनि सम्झौता नगर्न प्रहरीलाई आग्रह गर्नुभयो । राजनीतिकर्मी सबै भ्रष्टचारी
हुन् भन्ने भाष्य निर्माण भएकाले यसलाई सबैले चिर्न आवश्यक रहेको बताउनु भयो । र
हामी आफैबाट छानविन गर्न आग्रह समेत
गर्नुभयो ।
अन्तर्कृया कार्यक्रममा बोल्दै सिद्धिचरण
नगरप्रमुख तेजन खनालले प्रहरी र नागरिकको सामान्जस्यताले समाजमा ठुला घटना हुन
नदिने भएकाले नागरिक र प्रहरीबीच नजिकको सम्बन्ध हुन आवश्यक रहेको बताउनु भयो ।
पूर्वनगरप्रमुख मोहन कुमार श्रेष्ठले २४
घण्टामा सत्ता परिवर्तन हुनेगरी जेन्जीले गरेको आन्दोलनमा प्रहरीका हतियार लुटिएको
विषयमा प्रश्न गर्दै राज्यले छानविन गरी सार्वजनिक गर्नुपर्ने माग गर्नुभयो ।