समचार संक्षेप - जिल्लामा २३ हजार ८ सय ७० हेक्टर जमिन खेतियोग्य छ । - नेपालमा कृषी पेशालाई तुच्छ पेशाको रुपमा हेर्ने भएकाले कृषी पेशामा युवाहरुको आकर्षण नभएको स्थानीय जानकारहरुले बताउने गरेका छन् । |
राजकुमार कार्की
साउन १६ । नेपाल सरकारले साउन १६
गते कोदो दिवस मनाउन शुरु गरेको छ । सरकारले कोदो जन्य बालीहरुको आयात रोक्न तथा
उत्पादनमा बृद्धि गर्न पहिलो पटक यो वर्षदेखि कोदो दिवस मनाउन शुरु गरेको हो ।
ओखलढुंगा जिल्लामा कोदो बालीको उत्पादन
घट्दोक्रममा रहेको देखिन्छ । कृषीज्ञान केन्द्र ओखलढुंगाले सार्वजनिक गरेको
तथ्याँक अनुसार जिल्लामा कोदोको उत्पादन घट्दोक्रममा रहेको छ । आर्थीक वर्ष ०७९÷८० मा १९ हजार ३ सय
७८ मेट्रिक टन कोदो उत्पादन भएको थियो । आर्थीक वर्ष ०८०÷८१ मा १२ हजार ५ सय
१७ मेट्रिक टन कोदो उत्पादन भएको थियो । यो तथ्याँकअनुसार एक आर्थीक वर्षमा नै
कोदो उत्पादनमा ६ हजार ८ सय ६१ मेट्रिक टनले घटेको छ । तर जिल्ला कृषीज्ञान
केन्द्रले सार्वजनिक गरेको तथ्याँकमा कोदो खेति गर्ने जग्गा भने घटेको देखिदैन, ७ हजार ५ सय ५१
हेक्टरमा कोदो खेति भईरहेको देखाएको छ । मकै, फापर, जौ, गहुँ
बालीको उत्पादन पनि घट्दोक्रममा रहेको छ ।
कोदो खेति गर्न झन्जटीलो लगानी बढी, अम्दानी कम हुने
भएकाले कोदो उत्पादन गर्न छोडेको मोलुङ गाउँपालिका वडा नं १ कुन्तादेवीका पूर्व वडाअध्यक्ष प्रदिप
बाँनीयाले बताउनु भयो । अधिकाँस युवाहरु विदेश जाने गाउँघरमा खेताला पनि नपाउने
कारणले कोदो लगायतको खेति कम भएको छ । किसानलाई राज्यले पनि बेवास्ता गर्ने र
नेपालमा कृषी पेशालाई तुच्छ पेशाको रुपमा हेर्ने भएकाले कृषी पेशामा युवाहरुको
आकर्षण नभएको स्थानीय जानकारहरुले बताउने गरेका छन् ।
ओखलढुंगा जिल्लामा २३ हजार ८ सय ७० हेक्टर
जमिन खेतियोग्य छ । संभावीत सिञ्चाई हुने जग्गा १७ हजार २ सय ४४ हेक्टर रहेको छ
भने वर्षभरी मौसमी सिञ्चित हुने जग्गा ९ हजार १ सय ६ हेक्टर रहेको छ । आकाशको
पानीले मात्र सिञ्चित हुने जग्गा ८ हजार १ सय ३८ हेक्टर छ ।
आधुनिक रुपमा विउबिजनको प्रयोग गरेर
प्रविधिमैत्री कोदोको खेति नगरे सम्म किसानलाई फाइदा नहुने सिद्धिचरण नगरपालिका
वडा नं ९ का वडाअध्यक्ष गुण बहादुर खड्काले बताउनु भयो । यो भन्दा अगाडीका
वर्षहरुमा असार १५ गते धान दिवस मनाउदै आएको सरकारले, यो वर्ष देखि साउन १६ गते कोदो दिवस पनि मनाउन शुरु
गरेको छ ।
आर्थीक वर्ष २०८१÷८२ मा ७६ करोड ६३ लाख ८६ हजार बराबरको करिब १८ हजार ३ सय १६ मेट्रिक टन कोदो जन्य उत्पादनको आयात भएको कृषी विभागले जनाएको छ ।