बाढी पहिरोका कारण अहिलेसम्म एक सय ९० जनाको ज्यान गयो


भदौ २ । वर्षाका कारण आएको बाढी, पहिरो डुवानलगायतका विपद्मा परेर आजसम्म एक सय ९० जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा मात्रै आठ जनाले ज्यान गुमाएका छन् ।  गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्मा आजसम्म एक सय ९० जनाको ज्यान गएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार काठमाडौँ उपत्यकामा तीन जना कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा आठ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३६ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १५ जना गरी जम्मा एक सय ९० जनाको ज्यान गएको छ ।

 काठमाडौँ उपत्यकामा ११, कोशी प्रदेशमा ३८, मधेश प्रदेशमा १२, बागमती प्रदेशमा २३, गण्डकी प्रदेशमा ४५, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा ५७ र सुदूरपश्चिम प्रदेशमा ३४ जना गरी दुई सय ३८ जना विभिन्न विपद्मा परी घाइते भएका प्रहरीले जनाएको छ ।

सोही अवधिमा एक सय १४ जनाको उद्धार गरिएको छ । बाढीपहिरोमा परी कोशी प्रदेशमा दुई, मधेश प्रदेशमा एक, बागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी ४९ जना बेपत्ता रहेका प्रहरीले जनाएको छ ।

बाढीका कारण आजसम्म तीन सय ८४ घर डुवानमा परेका छन् । तीन सय २७ घर, एक सय १२ वटा गोठ, ५१ वटा पुल, चारवटा विद्यालय दुई सरकारी कार्यालयमा क्षति भएको छ । यस्तै, चार हजार आठ सय १९ परिवार विपद्का घटनाबाट विस्थापित भएको विवरण प्रहरीले सोमबार सार्वजनिक गरेको  छ ।

 

 

 

प्रतिक्रिया