दोहोरिदै आएको पहिरे खोलाको कथा


राजकुमार कार्की

 असार २९ । ओखलढुंगा जिल्ला मोलुङ्ग गाउँपालिका२ मा पर्ने पहिरे खोलाको कथा यो वर्ष पनि शुरु भएको छ । हरेक वर्ष वर्षाको समयमा शुरु हुने पहिरेको कथा यो वर्ष पनि दोहोरिएको हो ।  प्रत्येक वर्ष पहिरेको कथा फेरिने आशामा रहेका यहाँका नागरिकहरुको आशा आशामा मात्रै सिमित रहेको थुप्रै वर्ष भइसक्यो ।  खोलामा पानी हुदैन, पानी नपरेको समयमा हिडडुल गर्न समस्या छैन, तर कतिखेर पानी पर्छ टुंगो पनि हुँदैन । पानी पर्ने बित्तिक्कै वारिको वारि नै पारिको पारि नै बस्नुपर्ने अवस्था छ ।

आकाशबाट पानी पर्नासाथ ढुंगा, मुढा, माटोको लेदो आई यातायातका साधन लगायत मान्छेहरु वारपार गर्न सक्दैनन् । यो क्रम करिब असार महिना देखि असोज महिना सम्म निरन्तर चलीरहन्छ । लेदोले यातायातका साधन लगायत बाटो हिड्ने बटुवालाई  रोक्न थाले पछि यसको कथा शुरु हुन्छ । र हिउँद लागेर पानी पर्न छोडेपछि यसको कथा सेलाउदै जान्छ । हिउँदको समयमा एक थोपा पानी पनि हुदैन भने वर्षाको समयमा पनि ढुंगामाटोको लेदो मात्रै बगीरहन्छ । पानी नपरेको बेलामा समान्य सानो पानी मात्र झरेको हुन्छ केहि समस्या हुँदैन । गतवर्ष मोलुङ गाउँपालिकाले तलबाट जाली वाल लगाएपछि केहि रोकीएको थियो । तर यो वर्ष त्यो जाली वाल सबै बगाएको छ ।

यो सडक भएर जिल्लाका ५ वटा स्थानीय तहका नागरिकहरु जिल्ला सदरमुकाम आउनु पर्छ, भने  मोलुङ गाउँपालिकाका नागरिक र खिजीदेम्बाका केहि वडाका नगारिक भने सदरमुकाम लगायत राजधानी काठमाण्डौ र तराईका जिल्लाहरुमा  आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ । मोलुङ गाउँपालिका, खिजीदेम्बा गाउँपालिका, लिखु गाउँपालिका, चम्पादेवी गाउँपालिका र सुनकोशी गाउँपालिकाका २ वटा वडाका नागरिकहरु यो सडकको प्रयोग गर्नु पर्ने बाध्यता रहेको छ । खिजीदेम्बा र लिखु गाउँपालिकाले बैकल्पीक सडकको रुपमा रामेछापका विभिन्न सडकहरु प्रयोग गर्दै सदरमुकाम आउने गरेका छन् ।  मोलुङका नागरिक र चम्पादेवीका अधिकाँस नागरिकले यो सडक प्रयोगको बिकल्प छैन । रामेछापको मन्थली हुदै खुरकोटको सडक प्रयोग गरेर सदरमुकाम आउने खिजीदेम्बा र लिखुका नागरिकलाई करिब दुइ दिन लाग्ने गरेको छ । ढाडे, सिरिसे, सालु देउराली मन्थली, खुर्काेट हुँदै सदरमुकाम आउनेहरुलाई एक दिनमा आइपुग्ने संभावना रहन्छ । उहाँहरु खुर्काेट आएर काठमाण्डौबाट आएका सवारी साधन प्रयोग गर्नुपर्ने हुन्छ । यदि खुर्काेटमा काठमाण्डौबाट आउने सवारीसाधन नेभेटेको खण्डमा एक दिन त्यहि बस्नु पर्ने हुन्छ । खिजीदेम्बाका नागरिकहरु भने बेलुका खुर्कोट बास बसेर भोलीपल्ट काठमाण्डौबाट आएको सवारीसाधन प्रयोग गरी आवतजावत गरिरहेका छन् ।

मोलुङ्ग गाउँपालिकाबाट प्रत्येक दिन काठमाण्डौका लागी विहान बस छुट्ने गरेको छ भने अन्य साना गाडीहरु पनि प्राय दिनभरी नै सन्चालन भईरहेका हुन्छन् । प्रदेश राजधानी विराटनगर लगायत तराईका अन्य जिल्लाहरुका लागि पनि सवारीका साधनहरु यहि सडक भएर आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ ।

सडक अबरोध भएको बेलामा सिद्धिचरण नगरपालिकाले जेसिभी प्रयोग गरि सडक सन्चालनमा सहयोग गर्दै अएको छ । भने मोलुङ गाउँपालिकाले मर्मत गर्दै सडक सन्चालन गरिरहेको छ । पुल निर्माणका लागि ठेक्का लागिसकेकाले ठेकेदार कम्पनीले एउटा मेसिन राखेर काम गर्दा सजिलो हुने हुँदा त्यसको पहल भईरहेको मोलुङ गाउँपालिकाका अध्यक्ष उत्तम राईले बताउनुभयो ।

 पहिरे खोलामा पुल निर्माणको लागि ठेक्का  यति निर्माण सेवा सोल दुधकुण्डले पाइसकेको छ । सम्झौता हुन बाँकी भएकाले सम्झौताको लागि पत्र पठाईसकिएको पूर्वाधार विकास कार्यालयका सब इन्जिनियर पदम जिरेलले जानकारी दिनुभयो । दुई वर्ष भित्रमा सम्पन्न गर्ने गरी ३ करोड ७२ लाख ६६ हजार ७६८ रुपैँयामा ठेक्का लागेको सब इन्जिनियर जिरेलले जानकारी दिनुभयो  । 

प्रतिक्रिया