भदौ २ । करिब ५ दिनदेखि अबरुद्ध भएको मोलुङ्ग‐२, ओखलढुंगाको पैह्रेखोला सडक सुचारु भएको छ ।
२९ गते बेलुका देखि अबरुद्ध भएको पैह्रे खोलामा तारजाली वाल लगाएपछि सडक सुचारु
भएको हो । आइतबारदेखि सडक नियमित सुचारु भएको स्थानिबासीले जानकारी दिएका छन् ।
खोलाले सडक गहिरो बनाई बगाएपछि यातायातका साधन लगायत मानिसहरु आवतजावत गर्न बन्द
भएको थियो । साउन ३० गते सिद्धिचरण नगरपालिकाको जेसिबीको सहयोगमा सुरक्षाकर्मी र स्थानियबासीले मानिस आवतजावत गर्न सक्ने
बनाएईको थियो ।
मोलुङ्ग गाउँपालिका‐२ मा पर्ने उक्त पैह्रेखोलाको सडक मोलुङ्ग
गाउँपालिकाको पहलमा मर्मत गरी सन्चालनमा आएको छ । पालिकाका अनुसार, जिल्ला विपद
व्यवस्थापन समिति ओखलढुंगा, रामपुर प्राप्चा श्रीचौर सडक निर्माण कम्पनीको सहयोगमा सडक सुचारु गरिएको
हो । जिल्ला विपद व्यवस्थापन समितिले तारजाली उपलब्ध, रामपुर प्राप्चा
श्रीचौर सडक निर्माण कम्पनीले जेसिबी उपलब्ध गराएको र फाउण्डेशन निर्माण गर्न, जालीमा ढुंगा भर्न
लागेको कामदारको ज्याला खर्च पालिकाले ब्यहोर्ने गरी सडक सुचारु गरिएको छ । सडक
सुचारु भएपछि यातायतका साधनहरु नियमित सन्चालनमा आएका छन् ।
साउन २९ गते दिउसो
करिब ३ः३० बजेको समयमा भएको वर्षाको कारण ढुंगा, मुढा, माटो सहितको लेदो आई
सडक बगाएर लगेको थियो । जिल्लाका पश्चिम तर्फका ५ वटा स्थानिय तहका नागरिकहरुले
प्रयोग गर्ने यो सडक अबरुद्ध भएपछि नागरिकहरु मारमा थिए । मान्छे सम्म हिड्न
नसक्ने गरी पहिरोले बगाएपछि अस्पताल आउने विरामी देखि विद्यालय आउनेजाने
विद्यार्थीहरु समेत अड्किएका थिए । यो सडक अबरुद्ध भएपछि टाढा‐टाढा गाउँका विरामीलाई स्टेचरमा बोकेर
सामुदायिक अस्पताल मिसन सोब्रुमा उपचारका लागि ल्याउन बाध्य भएका थिए । पालिकाको
पहलमा तलबाट तारजालीमा ढुंगा भरेर उकासेपछि सडक नियमित सन्चालन भएको छ ।
अस्थाईरुपमा सन्चालन भएपनि सडक स्थाईरुपमा सन्चालन गर्न मोटरेबल पुलको बिकल्प नभएको स्थानियबासीको गुनासो रहेको छ । पानी नपर्दा सम्म सडक ठिक हुन्छ, पानी आउने बितिक्कै ढुंगा, मुढा सहितको माटोको लेदो आउने हुनाले एकैछिनमा बगाउने गरेको नागरिकको भनाई छ । पैह्रेको मुहानमा कमेरे माटो र ढुंगामात्र भएकाले जुनसुकै बेला पनि पहिरो आउन सक्ने संभावना छ । जसले गर्दा सडक सहित स्थानिय आसपासका बस्तीहरु समेत जोखिममा रहेको बताएका छन् । पैह्रेको मुहानमा ढुंगामाटोको ठुलो ढिस्को तल सरेर अड्केर बसेको सजिलै देख्न सकिन्छ ।