ओखलढुंगामा पुराना दलको किल्ला तोड्दै रास्वपाका पोखरेल ५ मतले विजयी


राजकुमार कार्की

 फागुन २५ । नेपालको सबैभन्दा पुरानो दल नेपाली कांग्रेस र नेकपा एमालेको बर्चश्व रहेको ओखलढुंगामा राष्ट्रिय स्वतन्त्र पार्टीका विश्वराज पोखरेल विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइटेललाई ५ मतले पछी पार्दै पोखरेल विजयी हुनुभएको हो ।

नेपाल प्रहरीका पूर्व एआइजी समेत रहनु भएका पोखरेल केहि समय अगाडी मात्र रास्वपा पार्टीमा प्रबेश गर्नुृभएको थियो । पार्टी प्रबेश गर्नसाथ ओखलढुंगामा मत माग्न गाउँगाउँ पुग्नु भएका उम्मेदवार पोखरेल अन्ततः निर्वाचित हुन सफल हुनुभयो । बलियो संगठन भएको नेपाली कांग्रेसलाई समेत पछाडी पार्दै निर्वाचित हुनु सामान्य कुरा नभएको रास्वपाका नेताले बताएका छन् । ५ मतको झिनो मतान्तरमा विजयी भएको ओखलढुंगाको इतिहासमा पहिलो घट्ना भएको अग्रज ब्यक्तिहरुले बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलोपटक २०७९ को चुनावमा भाग लिएको थियो भने यो चुनावमा  दोश्रो पटकको सहभागिता थियो । जिल्लाभरी संगठन विस्तार गरिनसकेको रास्वापा पार्टीका उम्मेदवारलाई विजयी गराउनु पुराना दलप्रतिको आक्रोश भएको जानकारहरुले बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी चिन्हका) उम्मेदवार विश्वराज पोखरेलले जम्मा खसेको सदर मतको १३ हजार ९ सय ५३  मत पाउनु भएको थियो भने निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेस पार्टी (रुख चिन्हका) उम्मेदवार कुमार लुइटेलले जम्मा  खसेको सदर मतको १३ हजार ९ सय ४८ मत पाउनु भएको थियो । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टी (पाँचकुने तारा चिन्हका) उम्मेदवार अम्बिर बाबु गुरुङले ११ हजार २ सय ९६ मत पाउनु भएको थियो । नेकपा एमाले पार्टी (सुर्य चिन्हका) उम्मेदवार अस्मिता थापाले १० हजार ७ सय २० मत प्राप्त गर्नुभएको थियो  भने जिल्लामा जम्मा ५८ हजार ८ सय ९१ मत खसेको थियो  जस मध्ये ३ हजार ३ सय ५६ मत बदर हुँदा ५५ हजार ५ सय ३५ मत सदर भएको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।  २ स्वतन्त्र उम्मेदवार र १३ वटा दलका उम्मेदवार सहित १५ उम्मेदवारले चुनावमा भाग लिएका थिए ।

नेपालमा २००७ सालको क्रान्तिले प्रजातन्त्र ल्याएसँगै जनमत लिएरमात्र सरकार चलाउने ब्यवस्था भएको थियो । यो ब्यवस्थाको पर्याय बनेको नेपाली कांग्रेस, अहिलेको चुनावमा देशभरी पराजित भएकाे छ भने ओखलढुंगामा पनि ५ मतले पराजित भएको छ । २०६४ सालमा भएको संविधासभा सदस्य निर्वाचनमा  प्रतिनिधी सभाको २ वटै क्षेत्रमा तत्कालीन माओबादी विजयी भएको थियो । २०७० सालमा भएको संविधान सभा सदस्य दोश्रो निर्वाचनमा क्षेत्र नं १ मा नेकपा एमालेका यज्ञराज सुनुवार र क्षेत्र नं २ मा नेपाली कांग्रेसका रामहरि खतिवडा विजयी भएका थिए । नेपालको संविधान २०७२ ले ओखलढुगा जिल्लालाई प्रतिनिधी सभाका लागि एउटा निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि २ वटा निर्वाचन क्षेत्रमा विभाजन गरेको छ । नेपालको संविधान २०७२ घोषणा पछि भएको पहिलो निर्वाचन २०७४ मा प्रतिनिधी सभाका लागि नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडालाई पछि पार्दै नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवार विजयी हुनु भएको थियो । उक्त निर्वाचनमा एमाले र माओबादीको गठबन्धन भएको थियो । । २०७९ सालमा भएको निर्वाचनमा नेपाली कांग्रेस र तत्कालीन माओबादी बिचमा गठबन्धन भएर चुनावमा जाँदा नेपाली कांग्रेसका रामहरि खतिवडा विजयी हुनु भएको थियो । पटक–पटकको चुनावमा विजयी भईरहने हुनाले ओखलढुंगा जिल्लालाई कांग्रेसको किल्लाका रुपमा चिनिने गरेको थियो । प्रजातन्त्र प्राप्ति र पुनर्स्थापनाका लागि याे जिल्लाका धेरै ब्यक्तिहरुले ज्यान गुमाएका कारण ‘शहिदको जिल्ला कांग्रेसको किल्ला’ भन्ने नेपाली कांग्रेसको  नारा अब बन्द भएको छ ।

प्रतिक्रिया