को हुन नेपाली कांग्रेस ओखलढुगाका उम्मेदवार कुमार लुइटेल ?


राजकुमार कार्की

 फागुन ६ । आसन्न फागुन २१ गते हुने प्रतिनिधी सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस ओखलढुंगाले कुमार लुइटेललाई उम्मेदवार बनाएको छ । गाउँघर कुना कन्दरामा भिजेका लुटेल, मत माग्ने हिसाबमा भने नितान्तै नयाँ अनुहार हो । लाभको पदको लागि कुनै पनि ठाउँको खोजी नगरि सामाजिक काम र पार्टीको काममा तल्लीन रहेका लुइटेललाई यो पटक भने नेपाली कांग्रेसले प्रतिनिधी सभाको उम्मेदवार बनाएको छ ।

गत भदौ महिनामा भएको नयाँपुस्ता (जेनेरेशन–जेठ) को आन्दोलनले नेपालका दललाई सवक मात्र सिकाएन, परिवर्तन हुन पनि बाध्य बनायो । नयाँ पुस्ताको आन्दोलनको चाहनालाई शिरोधार्य गर्दै नेपालकै सबैभन्दा पुरानो ठुलो लोकतान्त्रीक दल नेपाली कांग्रेस परिमार्जन र परिवर्तन भई मत माग्न जनता सामु देशैभरी होमिएको छ । नयाँपुस्ताको माग र उदेश्य बमोजिम विशेष महाधिवेशन मार्फत गगन थापाको नेतृत्वमा पुराना पुस्ताको सोचविचार र नयाँ पुस्ताको जोश जाँगर सहितको केन्द्रीय कार्यसमिति चयन गरि चुनावमा होमीएको छ । देशका १ सय ६५ क्षेत्र सँगै ओखलढुंगा जिल्लामा पनि जनता सामु निक्कै लोकप्रिय नेताको रुपमा परिचत कुमार लुइटेललाई उम्मेदवार बनाएको छ । कुमार लुइटेलको उम्मेदवारीले नेपाली कांग्रेसका कार्यकर्ता मात्रै होइन, जिल्लाका मतदाता समेत उत्साहित भएको पाइएको छ । चुनावी अभियान तथा घरदैलो कार्यक्रममा गाउँगाउँमा पुग्नु भएका कुमार लुइटेल सँगको भेटमा मतदाताहरु उत्साहित भएको जानकारी दिएका छन् ।

स्व.बल बहादुर राई, स्व.गोपाल राई, स्व.महेश कोर्माेचा, स्व.बालाराज कार्की, स्व.मेघ बहादुर श्रेष्ठ, स्व.होमनाथ दाहाल, चन्द्रकान्त दाहाल, रामहरि खतिवडा, प्रदिप कुमार सुनुवार लगायतका नेताहरुका कारण जोगिएको नेपाली कांग्रेस ओखलढुंगाको बिरासत, अब जोगाउने जिम्मेवारी कुमार लुइटेललाई  आएको छ । मत माग्न गाउँगाउँमा पुग्नु भएका कुमार लुइटेल भन्नहुन्छ, ‘ओखलढुंगेली मतदाताहरुको उत्साह र चाहना देख्दा भारी मतान्तरले विजयी हुने निश्चित हुनुका साथै मलाई थप उर्जा समेत थपिएको छ ।’

ओखलढुंगाका युवाहरुमाझ लोकप्रिय नेताको रुपमा परिचित लुइटेलको जन्म साविक बलखु गाविसमा भएको हो । पिता लक्ष्मीप्रसाद र माता दोजीन्द्र कुमारी लुइटेलको कोखबाट २०३० सालमा हालको सुनकोशी गाउँपालिका–१, बलखुमा भएको हो । विज्ञान तथा द्वन्द्व, शान्ति र विकास अध्ययनमा स्नातकोत्तर गर्नुभएका लुईटेल बौद्धिक र अनुभवी नेताको रुपमा युवामाझ परिचित हुनुहुन्छ ।

२०४५ सालमा पद्मोदय हाइस्कूलमा नेपाल विद्यार्थी संघ इकाई सचिवबाट राजनीति सुरु गर्नुभएका लुइटेल, २०४७ देखि २०५१ सम्म नेविसंघको इकाई सदस्य र उपसभापति समेत बन्नु भएको थियो । २०५३  मा नेविसंघ ओखलढुंगाको कोषाध्यक्ष र २०६३ मा केन्द्रीय सदस्य समेत रहेर काम गर्नुभएको थियो । २०६४ सालमा नेपाली कांग्रेस ओखलढुंगाको जिल्ला सदस्य, २०६५ सालमा सहसचिव हुनुभयो भने २०६८ देखि निरन्तर महाधिवेशन प्रतिनिधी र महासमिति सदस्य समेत हुनु भएको थियो । हाल नेपाली कांग्रेसको कोशी प्रदेश कार्यसम्पादन समिति सदस्य तथा शुभेच्छुक संस्था समन्वय प्रमुख हुनुहुन्छ ।

प्रतिक्रिया