सुनकोशी गाउँपालिकाको सार्वजनिक सुनुवाई तथा सम्मान कार्यक्रम सम्पन्न


राजकुमार कार्की

 जेठ २५ । जिल्लाको सुनकोशी गाउँपालिकाले सार्वजनिक सुनुवाई तथा सम्मान कार्यक्रम सन्पन्न गरेको छ ।  पालिकास्तरीय सार्वजनिक सुनुवाई र पालिका भरीका ज्येष्ठ नागरिक, उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी र विद्यालयलाई सम्मान गरिएको हो । पालिका भरी सबै वडाका ८० वर्षभन्दा माथीका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । १० वटा वडा रहेको पालिकामा सबै वडाका ४ सय ८० जना  ज्येष्ठ नागरिकलाई ब्लाङ्केट, इलेक्ट्रिक -पानी तताउने_ जग र थर्मस हस्तान्तरण गर्दै सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले जानकारी दिनुभयो ।

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण, रजत र काश्य पदक विजेतालाई नगद सहित कदर पत्रले सम्मान गरिएको छ । स्वर्ण, रजत र काश्य पदक विजेतालाई क्रमश: नगद रु २ हजार, १ हजार ५ सय र १ हजार  प्रदान गरिएको छ । पालिका बाट प्रतियोगितामा भाग लिई स्वर्ण पदक विजेता ३१ जना, रजत पदक विजेता १२ जना र कास्यपदक विजेता ३ जनालाई नगद सहित सम्मान गरिएको छ । त्यसै गरी प्रतियोगितामा भाग लिने सबै विद्यार्थीलाई कदर पत्रले सम्मान गरिएको छ ।

दुई आर्थीक वर्षको एसईई परिक्षामा उत्कृष्ट जिपीए ल्याउने छात्र छात्रालाई नगद सहित कदर पत्रले सम्मान गरिएको छ । आर्थीक वर्ष ०७९÷०८० र आर्थीक वर्ष ०८०÷०८१ मा पालिकामा उत्कृष्ट जिपीए ल्याउने ५ जना छात्र छात्रालाई नगद रु ५ हजार सहित कदर पत्रले सम्मान गरिएको हो । पहिलो वर्ष अर्थात ०७९÷०८० मा उत्कृष्ट जिपीए ल्याउने छात्रहरु नविन कार्की, लक्ष्मण कार्की  र छात्रा अनुशा कटवाललाइ सम्मान गरिएको छ । नविन कार्की र लक्ष्मण कार्कीको बराबरी जिपीए आएको छ । सम्मानीत हुने तीनैजना छात्रछात्रा प्रबुद्ध माध्यमिक विद्यालय च्यानमका हुन् । छात्रा अनुशा कटवाल सामुदायीक विद्यालय छात्रा तर्फकी जिल्ला प्रथम छात्रा समेत हुन् । आर्थीक वर्ष ०८०÷०८१ मा  सुनकोशी माध्यमिक विद्यालय बलखु गौडाका छात्र रतन लुइटेल र चौतारा माध्यमिक विद्यालय डाँडाखर्ककी छात्रा अनुशा खत्रीले उत्कृष्ट जिपीए ल्याएका थिए । 

एसईईमा सतप्रतिशत विद्यार्थी उतिर्ण गराउने विद्यालयलाई पनि सम्मान गरिएको छ । पालिका भरीका विद्यालय मध्ये ३ वटा विद्यालयले आर्थीक वर्ष ०८०÷०८१ मा सतप्रतिशत विद्यार्थी उतिर्ण गराएका थिए । सुनकोशी माध्यमिक विद्यालय बलखु गौडा, आरुभञ्ज्याङ माध्यमिक विद्यालय बलखु र पञ्चकन्या माध्यमिक विद्यालय सिस्नेरीले सतप्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल भएका हुन् । सतप्रतिशत विद्यार्थी उतिर्ण गराउने विद्यालयलाई नगद रु २० हजार सहित कदर पत्रले सम्मान गरिएको शिक्षा शाखा प्रमुख विवेक तामङले जानकारी दिनुभयो ।

शिक्षामा उच्च शैक्षिक गुणस्तर बृद्धि गर्न, विद्यालय र विद्यार्थीहरुको मनोबल उच्च पार्दै हौसल्ला प्रदान गर्न सम्मान गरिएको पालिका अध्यक्ष कमल तामङले बताउनु भयो । त्यसैगरी ८० वर्ष कटेर शारिरीक अवस्था कमजोर भएका गाउँका ज्येष्ठ नागरिकलाई हौसल्ला प्रदान गर्दै उच्च मनोबलका साथ बाँच्न प्रेरीत गर्न सम्मान गरिएको अध्यक्ष तामङले बताउनु भयो ।


प्रतिक्रिया