फागुन १३। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटाइएका कर्मचारीहरुको पदीय मर्यादा कायम नगरिएको भन्दै, निर्वाचनमा खट्टिएबापत पाउने आर्थीक सुविधा नलिई सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी खटाउँदा पदीय मर्यादा विपरीत विभेद गरेर खटाएको भन्दै मोलुङ र सुनकोशीका कर्मचारीले आर्थिक सुविधा नलिईकन सहयोग गर्ने प्रतिबद्धता गरेका हुन।
मंगलबार प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्राती मार्फत संयुक्त विज्ञप्ति बुझाउँदै निर्वाचनलाई सघाउने तर आर्थिक सुविधा नलिने घोषणा गरेका छन् । पदीय मर्यादाको विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा छलफल भए पनि समग्र कर्मचारीहरुको पदीय मर्यादा सच्याउन नसकिने मौखिक जवाफ आएपछि कर्मचारीले संयुक्त विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
सुनकोशी गाउँपालिका र मोलुङ गाउँपालिकाका ८ जना कर्मचारीले हस्ताक्षर गरी प्रमुख जिल्ला अधिकारी मार्फत मुख्य निर्वाचनको कार्यालयमा बुझाएको संयुक्त विज्ञप्तिमा भनिएको छ; 'कर्मचारीहरुले निशर्त रुपमा राज्यले खटाएको ठाउँमा निर्वाचनमा सहभागी भई आफ्नो दायित्व पूरा गर्ने, यद्यपी कर्मचारीको पदीय मर्यादालाई गरिएको विभेद स्वीकार्य नहुने भएकाले उल्लेखित कर्मचारीहरुले निर्वाचनमा खटाइए बापत उपलब्ध हुने कुनै पनि आर्थीक सुविधा नलिई निशर्तरुपमा खटिई सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दछौ ।'
मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार जिल्लाका १ सय ५७ मतदान केन्द्रका लागि खटिने ९ सय ३२ कर्मचारीको नामावली प्रकाशन गरेको थियो ।
कर्मचारीको निशर्त निर्वाचनमा सहयोग गर्ने कुरालाई नेपाल निजामति कर्मचारी युनियनका जिल्ला अध्यक्ष विवेक कुमार तामङ र नेपाल निजामति कर्मचारी संगठनका जिल्ला अध्यक्ष रोजन खत्रीले हस्ताक्षर गरी ऐक्यबद्धता जनाएका छन् ।