चम्पादेवीमा लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य सम्बन्धी समन्वय बैठक सम्पन्न


राजकुमार कार्की

 भदौ १९ । लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य सम्बन्धी पालिकास्तरीय समन्वय बैठक सम्पन्न भएको छ । चम्पादेवी गाउँपालिका ओखलढुंगामा विभिन्न निर्णयहरु गर्दै बिहिबार समन्वय बैठक सम्पन्न भएको हो । पालिका उपाध्यक्ष दिलामाया मगरको अध्यक्षतामा समन्वय बैठक सम्पन्न भएको छ । पालिकास्थित विभिन्न शाखाका प्रमुखहरु, वडा अध्यक्षहरु र दलित महिला सदस्य  लगायत सरोकारवालाहरुको उपस्थितिमा कार्यक्रम गरिएको थियो । ओसीएमसी र सेफ हाउसको दिगोपनाका लागि कार्यक्रमको आयोजना गरिएको युएनएफपीएकी  जिल्ला संयोजक रेखा श्रेष्ठले जानकारी दिनुभयो । परियोजनाको बारेमा र समग्र लैंगिक हिंसाको अवस्थाको बारेमा संयोजक श्रेष्ठले प्रष्ट पार्नुभएको थियो भने  सेफहाउसको सन्चालनको बारेमा सेफ हाउस इन्चार्ज धनकुमारी थापाले प्रष्ट पार्नुभयो । त्यसै गरी  भावी कार्ययोजनाको तथा प्रजनन् स्वास्थ्यको विषयमा  सिएमसी नेपालका स्वास्थ्य संयोजक घनश्याम शर्माले प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै वडा नं ३ की दलित महिला सदस्य मनिता बि.कले कार्यक्रम राम्रो भएको र पालिकामा सन्चालन गर्न आवश्यक रहेको बताउनु भयो । प्रमुख प्रशासकीय अधिकृत धनराज श्रेष्ठले हिंसा भनेको अरुलाई पर्दा थाहा नहुने र आफुलाई पर्दा आकाश खसेजस्तै हुने विषय भएको बताउनु भयो । त्यसै गरी कार्यक्रमको  अध्यक्ष एवं चम्पादेवी गाउँपालिकाकी उपाध्यक्ष दिलामाया मगरले लैंगिक हिंसा न्युनीकरण गर्न पालिकाले तदारुक्ताका साथ काम गर्ने बताउनु भयो ।

सेफहाउस र ओसीएमसी  सन्चालन गर्न जिल्लास्तरीय बैठकले निर्धारण गरेअनुसारको बजेट सिद्धिचरण नगरपालिकाको खातामा जम्मा गर्ने लगायतका निर्णहहरु गरिएको छ । त्यसैगरी पालिकास्तरीय ओसीएमसी कार्ययोजना मस्यौदा तयार गर्न ३ सदस्यीय समिति समेत गठन गरिएको छ । उक्त समितिमा ः

स्वास्थ्य शाखा प्रमुख      : संयोजक

महिला शाखा प्रमुख       : सदस्य

शिक्षा शाखा प्रमुख        : सदस्य

गठित समितिले असोज ५ भित्रमा मस्यौदा तयार पारी पेश गर्नुपर्नेछ । 


प्रतिक्रिया