नगरपालिकास्तरीय परिक्षामा नौ विद्यालयको नतिजा शुन्य


राजकुमार कार्की

  बैशाख  । सिद्धिचरण नगरपालिकाले लिएको कक्षा ५ को  पालिकास्तरीय परिक्षामा ९ वटा विद्यालयको नतिजा शुन्य आएको छ । नगरपालिका क्षेत्रभित्रका ९ वटा सामुदायीक विद्यालयका कक्षा ५ का विद्यार्थीले पास मार्क ल्याउन सकेनन् । कँडेनी मावी, हिमालय मावी, नारायणस्थान मावी, सप्तकन्या आधारभूत विद्यालय, आनन्देश्वर आधारभूत विद्यालय, अन्तर्राष्ट्रिय युवावर्ष आधारभूत विद्यालय, वालविकास आधारभूत विद्यालय, रक्तमाला आधारभूत विद्यालय र सिद्धदेवी आधारभूत विद्यालयका कक्षा ५ का कुनै पनि विद्यार्थी पास नभएका हुन । पास भएका विद्यालयहरुमा पनि उत्तीर्ण प्रतिशत निकै कम रहेको छ । जम्मा ३६.७ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएको नगर शिक्षा शाखाले जानकारी दिएको छ । पालिकाभरी १४ वटा केन्द्र बनाएर परिक्षा सन्चालन गरिएको शिक्षा शाखा प्रमुख फडिन्द्र कटवालले जानकारी दिनुभयो ।

 पालिका आफैले प्रश्न पत्र बनाउने देखि केन्द्र तोकेरै परिक्षा सन्चालन गरी उत्तरपूस्तिका समेत आफैले काटेको थियो । सामुदायिक र संस्थागत बोर्डिङ स्कुल गरेर जम्मा ४२ वटा विद्यालय भएपनि ३८ वटा सामुदायिक विद्यालयको मात्रै नगर स्तरीय परिक्षा सन्चालन गरिएको थियो । पालिका भरीका ३८ वटा सामुदायिक विद्यालयका कक्षा ५ मा  २ सय ९६ जना विद्यार्थी भएकोमा २ सय ७० जना परिक्षामा सहभागी भएका थिए । सहभागी भएका विद्यार्थी मध्ये ९९ जना मात्रै उत्तीर्ण भएका छन् । ८४ जना विद्यार्थीलाई ग्रेडबृद्धिका लागि मौका परिक्षाको अवसर दिएको छ । ८७ जना विद्यार्थी पूर्णरुपमा फेल भएका छन् ।

३८ वटा सामुदयिक विद्यालय मध्ये तीन वटा विद्यालयले सतप्रतिशत नतिजा प्राप्त गर्न सफल भएका छन् । रुम्जाटार माध्यमिक विद्यायल रुम्जाटारका सहभागी ११ जना मध्ये ११ जना नै पास भएका छन् । भगवती आधारभूत विद्यालय र दुधकोशी आधारभूत विद्यालयका १÷१ जना विद्यार्थी सहभागी भएकोमा सतप्रतिशत उत्तीर्ण भएका छन् । जन्तरखानी माध्यमिक विद्यालयका १५ जना विद्यार्थी सहभागी भएकोमा १२ जना (८०%) विद्यार्थी उत्तीर्ण भएका छन् । त्यसैगरी जालपा माध्यमिक विद्यालयका २० जना विद्यार्थी सहभागी भएकोमा १४ जना (७०%) उत्तीर्ण भएका छन् । १२ वटा विद्यालयमा  १÷१ जना विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । रक्तमाला आधारभूत विद्यालयका १७ जना विद्यार्थी सहभागी भएकोमा २ जना मात्रै विद्यार्थी उतीर्ण भएका छन् । यो पालिका भरीको  सबैभन्दा कम (११.८%)   विद्यार्थी उत्तीर्ण भएका हुन् । दोश्रो कम विद्यार्थी उत्तीर्ण गराउनेमा बिगुटार माध्यमिक विद्यालय र शेर्पा सामुदायिक आधारभूत विद्यालय रहेका छन् । दुवै विद्यालयका सहभागी ८ जना विद्यार्थी मध्ये १ जना विद्यार्थी (१२.५%) मात्रै उत्तीर्ण भएका छन् । 

अहिलेको परिक्षामा नसोचेको नतिजा आएको छ, यो के कारणले भएको हो सम्बन्धित प्रधानाध्यापक, अविभावक सँग छलफल गर्ने र कारण पत्ता लगाई आवश्यक गतिविधीहरु सन्चालन गर्ने सामाजिक विकास समिति संयोजक एवं वडा नं १ का वडाअध्यक्ष तीर्थ घिमिरेले बताउनुभयो । अविभावकले विद्यार्थीलाई नियमित विद्यालय पठाउदैनन्, विद्यार्थी पढ्दैनन् भन्ने शिक्षकको गुनासो छ । उत्ता शिक्षकले विद्यालयमा राम्रो नपढाउने गरेको गुनासो अविभावकको भएकाले दुवै पक्ष सँग छफलफल गरेर अगाडी बढ्ने संयोजक घिमिरेको भनाई छ ।

प्रतिक्रिया