'बीपी कोइरालाको पत्र' भाग–४


राजकुमार कार्की

असोज ३० । प्रस्तुत जनमत संग्रहले जनतालाई पहिलोपटक एउटा अधिनायकबादी शासन रोज्ने वा त्याग्ने विकल्प दिएको छ । पञ्चायत ब्यवस्थाको सम्पुर्ण कालले अधिनायकबादीका शासन पद्धतिको एउटा नमुना प्रस्तुत गरेको छ । हामीलाई यस जनमतसंग्रहले यसप्रकारका कुनै पनि अधिनायकबादी ब्यवस्थासँग जनतालाई होसियार पार्न अपुर्व मौका दिएको छ । बहुदलीय शासन ब्यवस्थामा साँच्चै नै आस्था राख्ने विभिन्न बाद र विचार धाराहरुको प्रस्फुटन क्रियाशिलता बाञ्छनीय सम्झने हामी प्रजातन्त्रबादीहरुले यस मौकामा हासिल गरेको सफल्ताबाट यस देशमा प्रजातन्त्रको भविष्य निर्धारित हुनेछ , जनतासमक्ष जुन प्रकारले बहुदलिय ब्यवस्थाको बिकल्प प्रस्तुत हुन आएको छ, यस देशका बालीगहरुका समक्ष त्यसको नमुना संसदीय ब्यवस्थाको रुपमा यस अघि नै प्रस्तुत भईसकेको छ । संसदीय ब्यवस्थामा प्रत्यक्ष बालीग मताधिकारको जनता जनप्रतिनिधीहरु प्रति र जनप्रतिनिधीहरु जनता प्रति सोझै जिम्मेवार थिए । यस प्रकारले जनता आफ्नो शासन स्वयम गर्ने सामथ्र्य राख्दथ्यो । हामीकहाँ संवैधानीक ब्यवस्था अन्तर्गत त्यस प्रकारको एउटा संसदीय शासन पद्धतिको प्रयोग भईराखेकोमा संविधानको भावना प्रतिकुल र अधिनायकबादी शैलीमा त्यसलाई समाप्त गरी अफापसिद्ध घोषीत गरिएको कुरासँग हामी कहिल्यै पनि सहमत हुन सक्तैनौ । त्यस पद्धतिको पुनस्र्थापनाको लागि जनताबाट भएको निरन्तरको संघर्ष र दवावको स्थितिलाई महसुस गरेर घोषीत गरिएको राष्ट्रिय जनमत संग्रहको परिप्रेक्ष्यमा जस्तोसुकै क्रमिक सुधारबाट पनि पञ्चायत ब्यवस्था कस्तो हुनसक्दछ  र संसदीय ब्यवस्थाको अन्तर्निहित गुण बहुदलीयता कस्तो हुन्छ भन्ने सम्बन्धमा जनता समक्ष हाम्रा राजनीतिका अनुभव प्रस्तुत गर्नुपर्ने तत्कालको कर्तब्य हुन आएको छ । हामीलाई यस कामका लागि सम्पुर्ण देशबासीको सक्रिय सहयोग आवश्यक छ । यसलाई हामीले कुनै दलीय दृष्टिकोणबाट मात्र नहेरी सम्पुर्ण देशबासीहरुलाई ब्यापक राष्ट्रिय हितको दृष्टिकोणबाट हेर्नका लागि प्रेरित गर्दा कुनै दलीय कार्यक्रम वा केहि दलहरुको मोर्चाको परिकल्पना गर्न सक्तैनौ । यो जनमत संग्रह अत्यन्त सिमित प्रश्न पञ्चायत की बहुदलको लागि हुन लागेकोले हामीले यसमा सरकार बनाउदा दिनुपर्ने कार्यक्रम जस्तो कुनै कुरा दिन आवश्यक देखिदैन । कुनै दलले मुलुकको बहुमुखी समस्याहरुमा के सोच्दछ भन्ने यस निर्वाचनको कुनै विषय नै नभएकोले आफ्नो कार्यक्रम घोषणा गर्ने प्रसंग नै उठ्दैन । जहाँसम्म मुलुकका बहुमुखी समस्याहरुमा जनतालाई जागरुक संगठित गर्दै जाने प्रश्न छ यसको लागि नेपाली कांग्रेसको घोषणापत्र देखि आज सम्मको सम्पुर्ण इतिहाँस नै प्रयाप्त छ । बदलीएको सम्पुर्ण परिस्थितिलाई ध्यानमा राख्दा देशमा लामो समय देखि विद्यमान असामान्यता र संकटको समयका लागि बनेको पाटीको बनोट र ढाँचालाई आजको सामान्यता तर्फ फर्किन लागेको वातावरणमा ढाल्नका लागि केहि उद्धार र दुरगामी दृष्टिकोण अपनाउनु आवश्यक देखिन्छ । नेपाली कांग्रेसले केहि बृहत परिधी भित्र र मौलिक आदर्श र लक्ष्यहरुमा आघात नपुग्ने गरि बादविवाद र मतभेदलाई पाटीभित्र स्थान दिएकै हो । र एउटा राष्ट्रिय जनसंगठन भएकाले यसभित्र रहेका मतभिन्नता र बहसले यसका मौलिक लक्ष्य र आदर्शहरुको प्राप्तिमा सहायता नै दिदै आएका थिए । पार्टीभित्र चल्ने बहसहरुले नै पार्टीलाई नयाँ विचारहरुको पोषण प्राप्त हुन्छ र यसको लागि पार्टीभित्र प्रशस्त वातवारण उपलब्ध हुदै आएपनि २०१७ साल पुस १ गतेपछिको असामान्य अवस्थाका कारण पार्टीलाई सामान्य र स्वभाविक तवरले कार्यरत हुन मौका मिलेको थिएन । देशमा नयाँ असाधारण स्थिति आएको बेलामा सम्पुर्ण राजनीतिक र दलीय गतिविधीहरुलाई बलपूर्वक नियन्त्रण गरिएको स्थितिले हाम्रो पार्टीको ढाँचालाई पनि निकै आघात पु¥याएको थियो । हामीलाई आज एउटा खुल्ला वातावरण उपलब्ध हुन आएको छ । पार्टीको संगठनात्मक स्वरुपमा लागि पनि यसले नयाँ मौका दिएको छ । हामीले वास्तविक रुपमा भित्री तहसम्म ब्यापक रुपले प्रवेश गर्न यसको पुरानो ढाँचा र  शैलीलाई आत्मसाथ गर्नुपरेको छ । नयाँ परिस्थितिकको विश्लेषणमा सहमत हुन नसकेर वा त्यसलाई बुझ्न नसकेर वा उग्रताको सामना गर्न नसकेर वा अरु जुनसुकै प्रकारले भएपनि हाम्रा धेरै साथीहरु हामीसँग छुट्टिए, अलग्गिए । उनिहरुसँग हाम्रा कतिपय मतभेद रहे पनि मलाइ लाग्दछ, केहि मौलिक कुरामा सहमतिको आधार पूर्णत समाप्त भइसकेको थिएन । उनिहरु हामीसँग शतप्रतिशत नभए पनि कतै न कतैबाट प्रजातन्त्रको लागि सहायक तत्वकै रुपमा कार्यरत रहिआएकै थिए । हाम्रो पार्टीले जनताका विभिन्न वर्गसमुदाय र स्वार्थहरुलाई केहि सामान्य आदर्श र लक्ष्यहरु प्रति समेट्ने जुन कार्यक्रम राखेको छ । यसको संगठन पनि त्यसै अनुरुपको हुनुपरेकाले अब हामीले असामान्य स्थिति सुहाउदो पार्टीको ढाँचालाई सामान्य र सामयीक बनाउन पार्टीको विस्तार र सुदृढिकरणको लागि पुराना त्यस्ता छुटिएका अलग्गिएका पार्टीका सक्रिय कार्यकर्ताहरुलाई पुनः प्रबेशको सुगम नीति निर्धारीत गर्नु आवश्यक छ ।

मैले आजको राष्ट्रिय सन्दर्भ र त्यसका हाम्रो पार्टीको ऐतिहासिक भुमिकाको जुन प्रकारले र जुन परिस्थितिमा संक्षेपमा चर्चा गरेको छु । मैले त्यसमा गहिरिएर विचार हुनेछ भन्ने आशा राखेको छु । आज हामी सबैले देशको आधुनिकीकरण र विकासका लागि राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको भूमिका बुझ्नु परेको छ । हामीले हाम्रो उज्ज्वल परम्पराअनुसार ऐतिहासिक शक्तिको भूमिका योग्यतापूर्वक वहन गर्नेछौ भन्ने विश्वास ब्यक्त गर्दै म अहिलेलाई आफ्नो कुरा टुङ्ग्याउछु ।

       जयनेपाल !

प्रतिक्रिया