राजकुमार कार्की
असोज २८ । २०१५ सालको संविधान र
त्यसअन्तर्गत हुने संसदको निर्वाचनमा प्रजातन्त्र प्राप्तिका लागि शान्तिपूर्ण र
वैध उपायहरु प्रयोग गर्नसक्ने क्षमताको परिक्षाको एउटा महत्वपूर्ण समय अयो । हामी
समक्ष संवैधानिक प्रकृयाको सम्बन्धमा एउटा निर्णय लिनुपर्ने अवसर आउदा उपस्थित
गरिएको संविधान र त्यस अन्तर्गतको आमनिर्वाचनको चुनौतिलाई स्वीकार गरेबाट हामीले
पुनः देशको स्थितिलाई सहि ढंगले पहिचान गर्न सकेकोले सिद्ध हुन गयो । जनताले २०१५
सालको आमनिर्वाचनमा हामीलाई दिएको सहयोगको फलस्वरुप अत्याधिक बहुमतले निर्वाचित
भएर हामीले केवल सरकारको स्थायीत्वको आशा मात्रा प्रस्तुत गरेनौ, बरु २०१५ सालको
संविधानको अक्षर र भावनालाई पूरा इमान्दारी र तत्परताका साथ राष्ट्रिय हित र
प्रजातन्त्रको पक्षमा प्रयोग गर्न सक्ने क्षमता र समझादारी पनि प्रमाणीत गरेका
थियौँ । जनताले हामीलाई पाँच वर्षको अवधीका लागि शासनमा पठाउँदा, शासनमा टिक्न पाएको
डेढवर्षको अवधीभित्रै हामीले गरेर देखाएका लोकहित र प्रजातन्त्रका कुनै पनि काम
कारबाहीहरु नेपालको इतिहासको कुनै पन शासनले त्यतिकै अवधीमा गर्न सकेको छैन भन्ने
कुरा म पूरा विश्वासका साथ भन्न सक्दछु ।
राष्ट्रिय राजनीतिका मुख्य निर्णायक तत्वहरु
राजा र जनता दुइ विपरित दिशामा डोरीदै जानु प्रजातान्त्रिक शासन पद्धतिको
प्रारम्भिक अवधीको सबभन्दा बढी दुर्भाग्यको कारण थियो । हामीले जनताबाट जुन
विश्वास प्रेरणा र शक्ति पाएका थियौँ, हामीले जनतामा जुन उमंग, आकांक्षा र
आत्माविश्वास उब्जाउन सकेका थियौ, त्यसको चरित्र र खुबीलाई बुझ्न नसकेर राजाबाट ती
तत्वहरु जसलाई राष्ट्रिय हित र जनताको आकांक्षाहरु प्रति कुनै सरोकार थिएन ।
उनीहरुलाई नै समेटीरहने र ती तत्वहरु सँग नै मिलेर षड्यन्त्र गरिरहने काम हुन
थाल्यो । २०१७ साल पुस १ गतेको घटना त्यसै प्रकृया र प्रवृतिको अन्तिम परिणती थियो
। २०१७ साल पुस १ गतेको घटनालाई मैले नेपालको इतिहासको एउटा भयङकर राष्ट्रघाती
कार्य भन्दै आएको छु । त्यसदिन राजाले आफुलाई जनतासँग विलकुल उछिट्याएर प्रतिगामी
र राष्ट्रघाती तत्वहरुको साथ लाग्ने निर्णय
गरेका थिए । त्यसदिन देखि राजा र जनता स्पष्टरुपमा विभाजीत भएर संघर्षका
दुई विपरित शक्ति हुन गए । संघर्षको आमने सामने प्रकट भए । त्यस दिनदेखि देशको
दुर्गती,
पतन र विघटनको एउटा
जोडदार प्रकृया शुरु हुन गयो । त्यसबेलाको स्थितिको जतिसुकै लेखाजोखा गर्दा पनि
मैले वा मेरो मन्त्रीमण्डलले त्यसबखतको संविधान कानुन र जनताको आदेशको अवहेलना
गरेको कारणबाट त्यो घटना भएको हो भनेर विश्वास गर्नुपर्ने कुनै आधार देख्तिनँ ।
साथै त्यो घटना राजाले संविधानको संरक्षणका लागि वा संविधानका उदेश्यहरुको
प्राप्तिको लागि गरेको भन्ने देखिदैन । त्यसो हुदो हो त राजाले त्यसै संविधानलाई
नै असंवैधानीक तत्व भनेर खारेज गर्नुपर्ने थिएन । मलाई त्यस दिन संसद वा
संविधानसभाको विवाद संम्झना आएको थियो । जनतासँग विमुख हुनलाग्दा आखिर जनतामा
लादिएको संविधानले पनि त राजालाई भर दिएको रहेनछ । हामीले संविधानको अनुशरणमा कुनै
हार मानेका थिएनौ, त्यसप्रतिको निष्ठा फिर्ता लिएका थिएनौ । स्वयम आफुले त्यत्रो लामो विवाद
पछि दिएको संविधानप्रतिको धर्य र विश्वास त राजाको नै हराएको थियो । हामीले संसद
वा संविधान सभाको अन्त्यहिन विवादमा मात्र अलमलीएको भए संभवतः संविधान र संवैधानीक
परिपाटीद्वारा प्रजातन्त्र र राष्ट्रिय हितको लागि हामीले गरेका ती प्रयत्नहरु
इतिहासमा अङ्कित हुने थिएनन् होला ! हामीले जुन क्षमता, उत्साह र गतिशिलताले
सशस्त्र क्रान्तिको सफल्तापूर्वक नेतृत्व गरेका थियौ, शान्तिपुर्ण संवैधानी
उपायहरुमा पनि हामीले देखाएको सफल्ताका साथ नेतृत्व लिन सक्ने क्षमता, उत्साह र गतिशिल्ता
इतिहासमा अङ्कित भईसकेको छ । जनताका आकांक्षाहरु र समयमको मागलाई ठीक किसिमले
पहिचान गर्न र त्यस बमोजिमको नेतृत्व प्रदान गर्न सक्ने गतिशिल्ता हामीले
बेलाबेलामा प्रमाणीत गर्दै आएका यी ठोस ठोस उदाहरणहरु हुन् । २०१७ साल पुस १ गतेदेपछि
राष्ट्रिय शक्तिहरुको बिचमा जुन प्रकारको विभाजन र संघर्ष शुरु भयो, त्यसमा प्रजातन्त्रको
पक्षलाई हाम्रो निरन्तरको नेतृत्व प्राप्त हुदै आयो भने राजाबाट राष्ट्रियताको
नाराको आवरणमा तानाशाही ब्यवस्था कायम गर्दै
जाने जोड्दार प्रयत्न हुँदै गए । पुस १ गतेपछि देशमा विद्यमान असामान्य
परिस्थिती अस्थिरताको वातावरणमा काम गर्नुपर्दा नेपाली कांग्रेसले ठुलो संकट र
असुविधाहरुको सामाना गर्नुपरिरहेको थियो । नेतृत्वमा रहेका प्रायः सबै ब्यक्तिहरु
आकस्मीक रुपले बन्दी बनाइएको हुनाले बाँकी रहेका ब्यक्तिहरुका लागि आफुलाई जोगाइरहनु
वा विदेशमा निर्वासित भएर संघर्षको तयारीमा संलग्न रहनुबाहेक अरु कुनै बाटो थिएन ।
देशभित्र बसेर संगठनको ढाँचा कायम गर्दै निर्णायक संघर्षमा संलग्न रहन संभव नरहेको अवस्थामा स्वभाविक रुपले निर्वासनमा पुग्नु परेका पार्टीका कार्यकर्ताहरुले प्रजातन्त्रको प्रश्नमा पार्टीको दृढता ब्यक्त गर्दै, देशभित्र विद्यमान तानाशाहीको बिरुद्धमा जुन संघर्ष प्रारम्भ गरेका थिए । त्यसले सामान्य जनताको संघर्षशिल भावनाको नेतृत्व गरेको र देशभित्र जनताको संघर्षको रुप लिएको थियो । हामी त्यस जनसंघर्षको अग्रिम नेतृत्वमा थियौ । तर त्यस संघर्षले कुनै निर्णायक रुप लिन नपाई दक्षिण एशियाको राजनीतिमा अकस्मात एउटा नयाँ परिवर्तन आयो । त्यसलाई ध्यानमा राख्दै संघर्ष निलम्बित भएपनि देशभित्र चलिरहेको अन्य प्रकारका संघर्ष र विग्रहहरुको अन्त्य भएको थिएन । हजारौ राजनीतिक कार्यकर्ताहरु प्रवासमा वा बन्दिगृहमा परेका थिए भने जनताले पनि स्थानीय महत्वका समस्याहरुका सन्दर्भमा बराबर संघर्ष गरिरहेकै थिए । त्यस संघर्ष र दवावको स्थितिमा हामी सत्ताको पतिपक्षको महत्वपुर्ण शक्ति भई नै रह्यो । राजालाई लाग्न थाल्यो, यस संघर्षको स्थितिमा उनको ब्यवस्था त के देशको अस्तित्व नै पनि संकटमा परिसकेको छ । उनले क्रमिक सुधारको आव्हान दिए, पार्टीको तर्फबाट पनि सहयोगको आश्वासन दिइयो । म लगायत धेरै साथीहरु जेलबाट छुट्यौँ भने धेरैलाई माफी दिएर निर्वासन बाट फर्कने अवसर पनि प्राप्त भयो । राष्ट्रिय राजनीतिमा एउटा नयाँ पाना उघ्रिनेजस्तो जागरण हुन लागेको थियो । तर त्यो सुधारको प्रकृयामा कतै गएर अकस्मात अडेझै लाग्न थाल्यो । हाम्रो निरन्तर अथक प्रयास हुँदाहुदै पनि शासन पद्धतिमा कुनै उल्लेखनीय सुधारको संभावना देखिएन । सुधारको प्रकृयामा सहयोग अर्पण गर्नेहरुलाई तिरस्कृत र अपहेलित गर्दै सहयोगको भावनालाई आत्मसमर्पनको रुपमा लिइदा हामीमाथी जनतामा उठीरहेको असन्तोष र आक्रोशलाई अभिब्यक्त गर्नुपर्ने अवस्था आइप¥यो । देशमा एउटा नयाँ क्रान्तिकारी परिस्थिति देखिन थाल्यो । सत्तामा जनविमुख अहंकारले तानाशाहीलाई सुदृढ पार्न लागेकोले प्रजातन्त्र र राष्ट्रिय हितको लागि क्रान्ति अनिवार्य रहेको दृष्टिगोचर हुन लाग्यो र हामीले पुनः क्रान्तिको आव्हान ग¥यौँ ।
बाँकी अंश अर्काे अङकमा...............................
(विश्वेश्वरप्रसाद कोइराला राजनीतिक अभिलेखबाट साभार)